रामेछाप जिल्लामा ३९ सय ५५ किलोमिटर सडक निर्माण



स्नेहा सिलवाल
८ साउन, काठमाडौं । रामेछाप जिल्लामा स्थानीय तहको सरकार गठन भएपछिको चार बर्षको अवधिमा २७ सय ५० किलोमिटर सडक निर्माण भएको छ । स्थानीय तहको सरकार गठन हुनुपूर्व जिल्लामा १२ सय ५० किलोमिटर सडक निर्माण भएकाे थियाे । योसँगै रामेछाप जिल्लामा ३९ सय ५५ किलोमिटर सडक निर्माण भएको छ । तर जिल्लाभित्र करिब ६० किलोमिटर सडक मात्र कालोपत्रे भएका छन् । बाँकी सबै सडक कच्ची छन् ।रामेछाप जिल्लाका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठको पहलमा जिल्लाका रणनैतिक सडकको कालोपत्रे र ग्राबेल गर्ने काम अगाडि बढेको छ । त्यसैगरी जिल्लाभित्र बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा मुख्य सडकहरुको कालोपत्रे काम भने गत बर्षबाट अगाडि बढेको छ ।

ग्राफिक्सः विवेक श्रेष्ठ

रामेछाप जिल्लामा स्थानीय तहले सडक निर्माणमा प्राथमिकता दिएपनि स्तरउन्नती र व्यवस्थापनमा कम बजेट खर्च गरेका छन् । तर यस बर्षबाट भने अधिकाशं स्थानीय तहले सडकको नयाँ ट्रयाक ओपनलाई प्राथमिकतामा राखेका छैनन्  । जिल्लाको ६४ वडाको प्रत्येक टोलटोलमा सडक पुगेको छ । बर्षाको समयमा भने आधा पनि सडक प्रयोगमा आउदैनन् । रामेछाप जिल्लाको सबै भन्दा बढी ७१६ किलोमिटरसडक खाँडादेवी गाउँपालिकामा निर्माण भएको छ भने सबै कम सुनापती गाउँपालिकामा २७६ किलोमिटर सडक निर्माण भएको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा हालसम्म ५७५ किलोमिटर सडक निर्माण भएको छ । मन्थली नगरपाािलकाका इन्जिनियर डिल्ली अधिकारीले कच्ची र कालोपत्रे गरी हालसम्म ५७५ किलोमिटर सडक निर्माण भएको बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘नगरपालिकाको अधिकाशं बस्ती र टोलमा सडक पुगेको छ, अब स्तरउन्नतीको काममा लागेका छौं ।’

रामेछाप नगरपालिकामा हालसम्म ५९४ किलोमिटर सडक निर्माण भएको इन्जिनियर कुसुम भट्टराईले बताउनुभयो । सदरमुकाम मन्थलीबाट रामेछापडाँडासम्म जोडने सडक बाहेक सबै सडक कच्ची रहेको बताउदै भट्टराईले रामेछाप न्युजसँग भन्नुभयो,‘हामीले सडकको विस्तृत योजना तयार गरेर नयाँ सडक निर्माणमा भन्दा पनि भएका सडकलाई व्यवस्थित बनाउने नीति लिएका छौं ।’ रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले सबै वडाका बस्तीहरुमा सडकको पहुँच पुगिसकेकाले अब स्तरउन्नतीको काममा विशेष ध्यान दिने बताउनुहुन्छ ।

सुनापती गाउँपालिका हालसमम २७६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले पाँच वटै वडामा सडकको पहुँच पुगेकाले अब भएका सडकलाई राम्रो बनाउने काममा आफूहरु लागेको बताउनुहुन्छ । गत बर्षबाट खैरेनीघाट लुभु हिलेदेवी हुँदै गाल्वासम्म जोडने सडकको कालोपत्रे सुरु भएको छ, गाउँपालिकाको मुख्य सडक कालोपत्रे गर्न बागमती प्रदेशले प्राथमिकता दिएको छ, बाँकी सडकको स्तरउन्नतीमा हाम्रो ध्यान गएको छ, काफ्लले भन्नुभयो ।

खाँडादेवी गाउँपालिकामा जिल्लाकै सबै भन्दा बढी ७१६ किलोमिटर सडक निर्माण भएको छ । मन्थली–गाल्वा र सित्खा–गोगनपानीसम्मको सडक बागमती प्रदेश सरकारले कालोपत्रेको काम अगाडि बढाएको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले नयाँ सडक निर्माण गर्ने कार्यक्रम गाउँपालिकाले नराखेको बताउनुहुन्छ । उहाँले रामेछाप न्युज भन्नुभयो,‘जति सडक निर्माण भएका छन, ती सडकको प्राथमिकता निर्धारण गरेर यसबर्षबाट सोलिङ र ग्राबेल गर्ने काम अगाडि बढाउछौ ।’

त्यसैगरी दोरम्बा गाउँपालिकामा हालसम्म ३५० किलोमिटर सडक निर्माण भएको गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ बताउनुहुन्छ । दोरम्बा गाउँपालिकाले पनि सकेसम्म नयाँ सडक निर्माण नगर्ने नीति लिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले रामेछाप न्युजसँग भन्नुभयो,‘गाउँपालिकाको केन्द्रबाट सात वटै वडामा जाने मुख्य सडकको पहिचान गरेर प्राथमिकताको आधारमा स्तरउन्नतीको काम अगाडि बढाउछौ ।’
जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा हालसम्म ४५० किलोमिटर सडक निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहालले सडकलाई व्यवस्थित बनाउने योजनामा जुटेको बताउनुहुन्छ । ‘अब नयाँ सडक निर्माण होइन, भएका सडकलाई राम्रो बनाउनतर्फ हाम्रो ध्यान गएको छ’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘भएका सडकलाई दिगो र स्थायित्व दिन जरुरी छ ।’

त्यसैगरी गोकुलगंगा गाउँपालिकामा हालसम्म ४०० सय किलोमिटर सडक निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले अधिकांश बस्तीमा सडकको पहुँच पुगेकाले अब नयाँ सडक निर्माण नगर्ने बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हामीले यसअघिबाटै सडकलाई व्यवस्थित बनाउनको लागि सोलिङ गर्ने कामलाई प्राथमिकता दिएका छौ, सडक पनि दिगो हुने गाउँमा रोजगारी पनि सृजना गर्ने काम गरेका छौं ।’

जिल्लको उमाकुण्ड गाउँपालिकामा हालसम्म ५९४ किलोमिटर सडक निर्माण भएको छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले निर्माण गरिएका सडकलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिएको बताउनुहुन्छ । ‘सडकको पहुँच अब सबै वडाभित्र पुगेको छ, नयाँ सडक भन्दा पनि भएका सडकलाई बर्षाको समयमा यातायात सञ्चालन गर्ने बनाउछौं ।’

प्रतिक्रिया दिनुहोस्