रामेछापको सबै सीमा नाकामा सिसी क्यामेरा राख्छौः डिएसपी पाठक



८ साउन, रामेछाप ।
जिल्लाभित्रको शान्ति सुरक्षाको अवस्थालाई थप मजबुद्ध बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको मुख्य सीमा नाकामा सिसी क्यामेरा जडान गर्ने बताएको छ । प्रहरीले जनशक्तिसँगै प्रविधिमैत्री बनाउदै जिल्लाभित्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन सिसी क्यामेरा थप्नु पर्ने अवधारणा अगाडि सारेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले जनशक्ति परिचालनसँगै प्रविधिलाई पनि जोड दिएर अगाडि बढन लागेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाभित्र कुनै पनि अपराधिक घटना हुन नदिन र यदि भइहालेको अवस्थामा पनि अपराधी उम्किन नदिन सिसी क्यामेरा जडान गर्नुको विकल्प छैन् ।’
मन्थली नगरपालिकाको सहयोगमा मन्थली बजारभित्र हाल २८ वटा सिसी क्यामेरा जडान गरिएको छ । जडान गरिएको सिसी क्यामेराको मनिटरिङ भने जिल्ला प्रहरी कार्यालय रामेछापले गर्दै आएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयको पहलमा खाँडादेवी गाउँपालिकाको सहयोगमा रामेछाप प्रमुखको मुख्य नाका अन्तर्गत रहेको सित्खा र लुभुघाटमा पनि सिसी क्यामेरा राखिएको छ । प्रमुख पाठकका अनुसार मन्थली बजारमा जनसंख्याको चाप बढेसँगै थप छ वटा सिसी क्यामेरा थप्न लागिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको समन्वयमा जिल्लाका मुख्य नाकाहरुमा सिसी क्यामेरा राख्न गृहकार्य अगाडि बढाएको छ । पाठकले भन्नुभयो,‘रामेछाप नगरपालिकाको बजार क्षेत्रमा १० वटा, लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा १० वटा र साँघुटार बजारमा ५ वटा सिसी क्यामेरा तत्काल जडान गर्न स्थानीय तहसँग समन्वय गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्