त्यो जिर्ण पुख्यौली घर



मनोज कुमार कँडेल

बुबाले भन्थे
छोरा यति सजिलै ठडेको थिएन यो घर
१ हप्ता लाग्थ्यो एक मानो घिउ बनाउन
झिङ्गाको बोसो निकालेर जम्मा गरे जस्तै हो
एक माना घिऊ बनाउनु
मोहोर मानो घिऊ थियो
त्यो घिऊ भन्दा बढि त
तेरी आमाको बोसो पग्लिएको छ भैसी स्याहार्दा ।

मेरो राम्रो लगाउने, मिठो खाने
सबै सबै चाहानाहरु मारी आफैलाई निचोरेर
तेरी आमाले खाली खुट्टामै भिरपाखा चाहारेर
दशै आउनू पथ्र्यो चोली र सारी फेर्न तेरी आमाले
मख्खिचुस हुनु परेको थियो बाबु
तैले सोचे जस्तो कहाँ सजिलै ठडिएको थियो र घर
झल्झली मेरो बुबा अगाडि देख्छु
उनका यी पौरखका कथा सम्झदा ।

५ भाई ५ पाण्डब जस्ता मेरो बुबाहरु
एक थिए, विबेकी थिए, इमान्दार सधै
मुलघर एक थियो
आआप्mनो पौरख देखाउनै पर्ने
सेनामा भर्ति हुन पुगेका मेरा बुबा
बाहुन भएकाले
राजा महेन्द्रका भाई बशुन्धराका भान्छे बन्न पुगे
मलाई झिनो सम्झना छ
जब मलाई बुबाले राजा बशुन्धरा शाहा र
उनका कान्छि श्रीमती हेलेन शाहासँग भेटाएको दिन
५० रुपैया मुख हेरेको पैसा थापेको मैले
सायद मेरो जिवनको पहिलो उपहार थियो त्यो ।

बुबाले सुनाउनु हुन्थ्यो
बानेश्वर तिर जग्गा दिन्छु
यतै बस भनेर कर गर्थे राजा बशुन्धरा बुबालाई
तर आफु जन्मेको त्यो गाँउ, ति साथीभाई
त्यो पुर्खाले दुखले आर्जेको पाखाबारी
लहलह धान झुल्ने त्यो ठुलीबेशी
गाउँमा पाईने निश्वार्थ माया
छोड्न सकिन बाबु
अनि श्याल कराउने बानेश्वरको झाडि
झाडिमा लुकेको एकाँध खरका घर
मेरो मनले चाहेन
नत्र, त पनि बानेश्वरका रैथाने
२,४ रोपनी जग्गाको धनी, करोडपति हुन्थिस ।

मेरो साथीले फोटो खिचेर पठाउदै
मनोज तेरो पुर्खाको घर बिजोग छ
सक्छस भने यसलाई प्राण दिए हुने थियो
साथीले दिएको यी सल्लाह दिनदिनै ताजैछ
जब त्यो बुढो जिर्न घर
मेरो आखाँ अगाडि उभिन्छ
अनि याद आउँछ
त्यो घर माटो ढुङ्गा र काठले होइन
मेरो बुबाले राइफल समातेर जोगाएको
थोपा थोपा पसिनाको कमाईबाट सिन्चितछ
बुबा भन्नु हुन्थ्यो
१५ रुपैयाको जागिर
त्यो पनि २ रुपैया पल्टनले नै काट्थ्यो
कम्बरमा पटुका कसेर भोक मेटाउदै
भक्तपुरबाट भोकभोकै हिडेर
आफ्नो रहरहरु सबै छोरा छोरीलाई बाढेर
ठडाएको हो त्यो घर ।

यो पनि विर्सेको छैन
गाँउको जस्ताको छाना भएको दोश्रो
त्यो पाखाको घर
गाँउभरीको लागी एकमात्र नेशनल पानासोनिक रेडियो
थामको सिरानमा राखेर
ठूलो आवाजमा घन्काएको
जब घाँसका भारी विसाएर
पिडिमा गाँउका आमाबुबा दाजुभाई
रेडियो नेपालबाट घन्कने गित सुन्थे
थाकाई मेटिएको पत्तो पाउदैैन थिए
अनि मेरो बुबालाई अशिष दिईरहेका हुन्थे
धन्य साइला ।

जिर्न त्यो घरलाई
भुइचालोले हल्लाएर थङथिलो बनायो
प्वाल परेको जिर्न जस्तापाताबाट चुहेका पानी
खुल्ला झ्याल ढोकाबाट बतासिएको बतास
जाडोमा शैलुङबाट झर्ने तुषारो
मूलथामलाई आहार बनाई रहेको धमिरा किरा
सबैले एक साथ आक्रमण गरिहेकाछन अहिले
तर छिया छिया भएर पनि ठडिएकै छ
पक्कै नियास्रीएको छ, विरक्तीएको छ ।

आमाले भन्नु हुन्छ,
छोरा आँखीभ्यालबाट
विहान सुर्यका किरणले चिहाई रहेको थियो
त्यो घरको अगेना छेउमा
जब तैले पहिलो चोटी यो धर्तीमा पाइला झारीरहदा
हो त्यही घर जाहा म पहिलो चोटी खुशीले चिच्याए
पाल्याक पुुलुक गर्दै आँखा उघाँर्दै
आमा बुबा पृथ्वि मातालाइ ढोग गरे
आज त्यही घर
कोही त होला, एकदिन आउने छ
सम्हाल्नेछ यो जिर्न शरिर
सजाउने छ पुर्खाको नासो
भन्दै पर्खाइमा छ
त्यो जिर्न पुख्यौली घर
रातो दिन बाटो हेरीरहेको छ
त्यो जिर्न पुख्यौली घर ।

(लेखक अधिवक्ता हुनुहुन्छ) 

प्रतिक्रिया दिनुहोस्