उपत्यकामा खतराको घण्टीः रामेछाप–काठमाडौं अत्यावश्यक सवारी साधन मात्र चल्ने



१५ साउन, काठमाडौं ।
काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले सवारी साधन आवतजावतमा थप कडाई गर्ने भएको छ । चार महिनापछि लकडाउन हटाउने घोषणा गरेको सरकारले पुनः सवारी आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।

उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक लगाएको हो । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।

दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले ‘विशेष निर्देशन’ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्