रामेछापमा मास्क नलगाई हिडने १ सय २० जनामाथि ठाउँको ठाउँ कारवाही



१६ साउन, रामेछाप ।
रामेछाप जिल्लाभित्र मास्क नलगाई हिडने १ सय २० जनामाथि प्रहरीले कारवाही गरेको छ । संक्रमण रोग ऐन, २०२० अन्तर्गत प्रहरीले जिल्लाभित्र मास्क नलगाई हिडने व्यक्तिहरुमाथि धमाधम कारवाही थालेको हो ।
मास्क लगाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गर्दा समेत जनस्तरबाट अवज्ञा गर्ने क्रम बढेपछि प्रहरीले सडकमा मास्क नलगाई हिडनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने काम अगाडि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले पूर्व जानकारी दिदा समेत अटेर गर्ने १ सय २० जनामाथि कारवाही गरिएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोनाबाट बच्नको लागि स्वयंम नागरिकहरु नै बढी सचेत हुन जरुरी छ, सरकारले गरेको निर्णय नमान्नेमाथि हामीले कारवाही प्रक्रिया अगाडि बढाएका छौं ।’
सरकारले अनिवार्य रुपमा मास्कको प्रयोग नगर्नेमाथि कारवाही गर्ने यस अघि नै जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्