सिन्धुपाल्चोकमा फेरि पहिरोः ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार



१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एक जनालाई भने प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् ।

खबर प्राप्त भए लगत्तै प्रहरी उद्धारमा खटिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिनुयभयो ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुको खोजी कार्य जारी रहेको बताउनुभयो । अहिले पहिरो गएको स्थानमा नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्