रामेछापमा संघीय सरकारको पुँजीगत खर्च ४८.५९ प्रतिशत



१९ साउन, रामेछाप ।
रामेछाप जिल्लामा संघीय सरकारबाट विनियोजित बजेट पचास प्रतिशत पनि खर्च हुन सकेन । गत आर्थिक बर्ष २०७६÷०७७ मा संघीय सरकारबाट जिल्लामा प्राप्त बजेट पचास प्रतिशत भन्दा कम खर्च भएको हो । गत बर्ष संघीय सरकारबाट जिल्लामा ७ अर्ब १३ करोड ३१ लाख १८ हजार, ५९३ रुपैयाँ विनियोजन भएको थियो । कुल बजेटको चालु खर्चतर्फ ७९.२१ प्रतिशत अर्थात ५ अर्ब भन्दा बढी खर्च भएको छ भने पुँजीगत तर्फको २ अर्ब भन्दा बढी बजेटमा पुँजीगत खर्च तर्फ १ करोड ४३ लाख अर्थात ४८.५९ प्रतिशत मात्र खर्च भएको ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापका प्रमुख उमाकान्त आचार्यले कोरोनाको कारण काम हुने चार महिनाको अवधिमा कुनै पनि काम अगाडि बढन नसकेको कारण पुँजीगत खर्च कम भएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘मुख्य काम हुने बेलामा लकडाउन भयो, लकडाउनको कारण कामदारको अभाव, निर्माण सामाग्रीको समस्याको कारण पुँजीगत खर्चमा अपेक्षा अनुसारको लक्ष्य प्राप्त हुन सकेन ।’

संघीय सरकारबाट प्राप्त बजेटलाई थप प्रभावकारी बनाउनको लागि साउन मसान्तभित्र नै प्रक्रिया अगाडि बढाउन जिल्लास्थित कार्यालय प्रमुखहरुलाई रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्देशन दिइसक्नुभएको छ ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएको बजेटको कार्यान्वयनमा थप योजना तर्जुमा गरेर अगाडि जानुको विकल्प नभएको बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लामा बजेट हाल्नको लागि निकै ठूलो मेहनत गर्नुपर्छ, मेहनत गरेर पारेरको बजेटको प्रभावकारी कार्यान्वयन जरुरी छ ।’
यस बर्ष पनि संघीय सरकारबाट जिल्लाको लागि राम्रो बजेट विनियोजन भएको बताउदै बजेट कार्यान्वयनको लागि आफूले पनि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘लकडानको हटेको छ, अब आयोजनाको काम समयमा नै अगाडि बढाउन कर्मचारीहरुले ढिलासुस्ती गर्नु हुँदैन, कहीँ कतै समस्या आयो भने हामी समाधान गरेर अगाडि बढाउन भूमिका खेल्छौं ।’

प्रतिक्रिया दिनुहोस्