गोकुलगंगा गाउँपालिकाद्धारा कृषिमा बजेट ६ करोड भन्दा बढी बजेट विनियाेजन



२३ साउन, रामेछाप ।
रामेछाप जिल्लाको आठ वटा स्थानीय तह मध्ये कृषि क्षेत्रमा सबै भन्दा बढी बजेट गोकुलगंगा गाउँपालिकाले विनियोजन गरेको छ । यस आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भनेपनि अन्य स्थानीय तहले सडक निर्माणको कामलाई नै निरन्तरता दिएका छन् । तर गोकुलगंगा गाउँपालिकाले भने कृषि क्षेत्रकै लागि धेरै बजेट विनियोजन गरेको छ । गाउँपालिकालाई कृषि क्षेत्रबाटै आत्मनिर्भर बनाउने मुख्य उदेश्य सहित सुरुदेखि नै आफूहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिभित्र आलु, किबी चियाको राम्रो सम्भावना रहेकाले कृषकहरुले ठाउँको विशेषता अनुसारको फलफुल खेती गर्न गाउँपालिकाले उत्प्रेरित गर्दै आएको छ ।

कृषि क्षेत्रको विकासको लागि सिचाइँलाई पनि गाउँपालिको महत्व दिएको छ । गाउँपालिकाभित्र परम्परागत रुपमा भन्दा पनि आधुनिक र व्यवसायिक रुपमा बाख्रा पालन, कुखुरा पालन र ट्राउट माछा पालनको काम सुरु भएका छन् । आलु उत्पादनबाटै कृषकहरुले बार्षिक लाखौको आम्दानी गर्दै आएको बताउदै अध्यक्ष सुनुवारले रस्नालुको प्रत्येक घरमा किबी खेती गर्ने क्रम बढेको बताउनुभयो ।

गाउँपालिकाले यस बर्षबाट ‘गरिबसँग अध्यक्ष कार्यक्रम’ पनि सञ्चालन गरेको छ । शर्सत सहित गाउँपालिकाले कृषि क्षेत्रका विभिन्न कार्यक्रमको लागि आठ करोड भन्दा बढी बजेट बनाएको अध्यक्ष सुनुवारले रामेछाप न्युजलाई बताउनुभयो । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र  रामेछापका प्रदेशसभा सांसद शान्ति पौडेलको विशेष पहलमा यस बर्ष बागमती प्रदेश सरकारले गोकुलगंगा गाउँपालिकालाई आलु पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्