रामेछापको विकासमा प्रतिबद्ध भएर लागेको छुः मन्त्री ढुंगेल



२५ साउन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकासको लागि प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । बागमती प्रदेश सरकारले जिल्लाका रणनैतिक सडक कालोपत्रेको काम अगाडि बढाएको बताउदै स्वास्थ्य शिक्षा खानेपानी र कृषि क्षेत्रको विकासको लागि ध्यान दिएको बताउनुभएको हो ।

रामेछापको तीन गाउँपालिका सुनापती, दाेरम्बा र खाँडादेवीकाे संगमस्थल  गाल्वामा निर्माण हुन लागेको नेशनल तेक्वान्दो आइटिएफ एकेडमीको शिलान्याश गर्दै मन्त्री ढुंगेलले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै विकास निर्माणको काम अगाडि बढाएको बताउनुभयो । ‘अहिले जिल्लाका ६ वटा मुख्य सडक धमाधम कालोपत्रको गर्न बहुबर्षिय ठेक्का लगाएर काम भइरहेको छ’, उहाँले भन्नुभयो,‘निर्वाचनमा धुले सडकलाई कालोपत्रे बनाउने प्रतिबद्धता पूरा गरिरहेका छौं ।’

गाल्वालाई केन्द्र बनाएर सित्खा, लुभुघाट र सदरमुकाम मन्थलीबाट सडक कालोपत्रे भइरहेको बताउदै आफ्नो कार्यकालमा अहिले सुरु भएका सडक कालोपत्रेको काम सम्पन्न गरिने बताउनुभयो । संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा विगतमा हुन नसकेको काम अहिले भइरहेको बताउदै समृद्ध रामेछाप निर्माण गर्ने काममा आफू लागि परेको बताउनुभयो ।

मन्त्री ढुंगेलले खेलकुद क्षेत्रको विकासको लागि पनि प्रदेश सरकारले पर्याप्त ध्यान दिएको बताउदै जिल्लाभित्र खेलमैदान र कर्भड हल निर्माणको लागि बजेट विनियोजन गरिएको बताउनुभयो । खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित रामेछापको तीन गाउँपालिकाको संगमस्थल गाल्वामा सुविधा सम्पन्न कर्भड हल निर्माणको काम अगाडि बढेको हो ।

बागमती प्रदेश सरकारबाट विनियोजित १ करोड १० लाख रुपैयाँमा कर्भड हल निर्माणको काम सुरु भएको छ । रामेछाप आईटिएफ तोक्वान्दो जिल्ला संघका अध्यक्ष रुपसिंह मोक्तानले गाल्वामा निर्माण सुरु भएको कर्भड हल नेपालमा पहिलो तेक्वान्दो आईटिएफ एकेडेमी भएको बताउनुभयो । दुई रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको कर्भड हल निर्माण भएपछि खेलाडीहरुको लागि निकै सुविधा हुनेछ ।

शिलान्यास कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा लगायतको सहभागीता रहेको थियो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्भड हल निर्माण गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्