अब रामेछाप जिल्ला अस्पतालबाटै मृगौलाको डायलिसिस सेवा सञ्चालन हुन्छः मन्त्री ढुंगेल



२६ साउन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जिल्ला अस्पताल रामेछापबाटै अब मृगौलाको डायलिसिस सेवा सुरु हुने बताउनुभएको छ । उहाँले मृगौला पीडितहरुलाई जिल्लाभित्र नै सेवा उपलब्ध गराउने उदेश्य सहित जिल्ला अस्प्तालबाटै सेवा सञ्चालन गरिने बताउनुभएको हो ।

गृह जिल्ला रामेछापको जिल्ला अस्पतालको निरीक्षणपछि अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मात्रै मृगौलाका विरामीको डायलिसिस भइरहेकोमा अब केही महिनाभित्रबाटै जिल्ला अस्पतालबाट पनि सेवा सञ्चालन हुने बताउनुभयो । मन्त्री ढुंगेलको पहलमा हाल १५ शैया रहेको जिल्ला अस्पतालको स्तरउन्नती गरिदै २५ शैया बनाउने घोषणा भइसकेको छ ।

बागमती प्रदेश सरकारले यस आर्थिक बर्षमा अस्पतालको स्तरउन्नतीको लागि बजेट विनियोजन समेत गरिसकेको छ । उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनाल , अस्पताल विकास समितिका अध्यक्ष रोशन पाख्रिन र डा. आनन्द आचार्यले अस्पतालको हालको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मन्त्री ढुंगेललाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्