रामेछापमा कोरोना संक्रमितको संख्या बढदै ८२ जना क्वारेन्टाइनमा



२६ साउन, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले थप सुरक्षा सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । रामेछाप जिल्लामा गत शनिवार थप पाँच जनामा कोेरोना संक्रमण पुष्टि भएसँग संक्रमितको संख्या जिल्लाभर ३१ जना पुगेको छ ।
जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले जिल्लामा हालसम्म ६ सय ५० जनाको पिसिआर परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।उहाँका अनुसार संक्रमित ३१ जना मध्ये २३ जना निको भएर घर फर्किसकेका छन् ।

जिल्ला अस्पताल रामेछापका अनुसार सुनापती गाउँपालिकामा २ जना, मन्थली नगरपालिकाका ५ जना र दोरम्बा गाउँपालिकाका १ जना संक्रमितको आइसोलनमा उपचार भइरहेको छ । डा. आचार्यका अनुसार जिल्लामा हाल भारत लगायत विभिन्न देशबाट आएका गरी ८२ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरसबाट आउनसक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै १ सय ३५ बेडको आइसोलेशन कक्ष र ४ सय ३६ बेडको क्वारेन्टाइन स्थापना गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले पिसिआर परीक्षणको दायरा समेत जिल्लाभित्र बढाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्