भुकम्पले भत्काएको अग्लेश्वर मावि सुनापती गाउँपालिकाकै नमूना विद्यालय



२६ साउन, रामेछाप ।
सुनापती गाउँपालिका–२ दिमीपोखरीमा गाउँपालिकाकै नमूना विद्यालय भवन निर्माण भएको छ । भुकम्पको कारण भत्किएको विद्यालयको पुननिर्माण भएपछि गाउँपालिकाभित्रकै नमूना विद्यालय भवन निर्माण भएको हो । आधुनिक र सुविधा सम्पन्न विद्यालय भवन निर्माण सम्पन्न भएसँगै निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिमीपोखरीमा पुनर्निर्माण भएको अग्लेश्वर माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरेको छ । सोमबार भर्चुअल माध्यमबाट पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्दै सो भवन हस्तान्तरण गर्नुभएको हो । कोरोना महामारीका कारण सोही ठाउँमा उपस्थित भएर कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था भएकाले भर्चुअल माध्यममार्फत् विद्यालयको उदघाटन गर्दै हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ ।

उक्त विद्यालय प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सञ्चालित डिजास्टर रेजिलिएन्स अफ स्कुल्स प्रोजेक्ट (डिआरएसपी) आयोजनाअन्तर्गत पुनःनिर्माण गरिएको हो ।

शर्मा÷खानी जेभीले ठेक्का पाएको उक्त विद्यालयको डिजाइन र सुपरभिजनको काम ईआरएमसी कन्सलटेन्टले गरेको थियो । ईआरएमसीका सञ्चालक उद्धब चौलागाईले निर्धारित मिति भन्दा अगाडि नै विद्यालयको निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘लकडाउनको बीचमा पनि काम रोकिएन, निकै राम्रो र आधुनिक विद्यालय बनेको छ ।’ उहाँले आधुनिक र व्यवस्थित भवन अपाङमैत्री रहेको जानकारी दिनुभयो ।

२ वटा ३ तल्ले भवन बनाइएकोमा एउटामा १२ कोठा र अर्काेमा ९ कोठा रहेको छ । महिला, पुरुष र अपांगमैत्री गरी ३ छुट्टाछुट्टै सुविधासम्पन्न शौचालय, सोलार सिस्टम सहित आधुनिक पूर्वाधारसहितको विद्यालय निर्माण गरी हस्तान्तरण गरिएको छ ।

करिब ८ करोड २८ ला लागतमा निर्माण भएको विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण पूर्वाधा रहेकोे परामर्शदाता इन्जिनियर नरकान्त सापकोटाले जानकारी दिनुभयो । लकडाउनको अवधिमा पनि निर्वाध रुपमा काम भएकाले समय भन्दा अगाडि नै विद्यालय भवन निर्माण भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्