अब भदौ १६ गतेबाट मात्र रामेछाप–काठमाडौं यातायात चल्ने



२६ साउन, रामेछाप ।
भदौ १ गतेबाट अन्तर जिल्ला यातायात सञ्चालन गर्ने दिने भनिए पनि कोरोना संक्रमण बढदै गएपछि सरकारले उक्त निर्णय तत्कालको लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार भदौ १ गतेबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङफेले बढदो कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि तत्काल अन्तर जिल्ला यातायात सञ्चालन गर्न नदिने निर्णय गरेको बताउनुभयो । यसअघि सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १ गतेबाट रामेछाप–काठमाडौं निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले आज गरेको निर्णयसँग अब भदौ १६ गतेबाट मात्र रामेछाप–काठमाडौं यातायात सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्