सवारी पास बन्द गर्ने जिल्ला प्रशासन कार्यालय रामेछापकाे निर्णय



२८ साउन, रामेछाप ।
रामेछाप जिल्लाबाट जारी हुँदै आएको सवारी पास अब जारी नहुने भएको छ । गृह मन्त्रालयले सवारी पास बन्द गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले पनि सवारी पास जारी नगर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय रामेछापबाट अत्यावश्यक सवारी साधनको अवस्था हेरेर सवारी पास जारी हुँदै आएको थियो ।

जिप्रका रामेछापबाट जिल्लाबाट अर्को जिल्ला जानको लागि सवारी पास जारी हुँदै आएको थियो । भोलीदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले दैनिक रुपमा जिल्लाभित्र ३ सय सवारी भित्र्ने र २ सय भन्दा बढी सवारी साधन बाहिरिने गरेको रामेछाप न्युजलाई बताउनुभयो । सवारी पास बन्द गर्ने निर्णयलाई कडाईपूर्वक कार्यान्वयन हुने बताउदै सवारी साधन आवतजावतमा कडाई गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्