रामेछापलाई बागमती प्रदेशकै उत्कृष्ट जिल्ला बनाउछुः मन्त्री ढुंगेल



२८ साउन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लालाई समृद्ध बनाउने काम तीब्र गतिमा अगाडि बढेको बताउनुभएको छ । उहाँले समृद्धिको गतिमा अगाडि बढेको रामेछापलाई प्रदेशकै उत्कृष्ट जिल्ला बनाउने घोषणा गर्नुभएको होे ।

रामेछापको विटार पार्कमा रामेछापका सहयोगी मनहरु (रासम)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले आफ्नो कार्यकायलमै जिल्लालाई प्रदेशको पहिलो नम्बर बनाउने बताउनुभयो । जिल्लको विकासमा सबै एकताबद्ध भएर लाग्न आग्रह गर्दै मन्त्री ढुंगेलले पूर्वाधार स्वास्थ्य शिक्षा, कृषि खानेपाली सिचाई लगायतको आयोजनामा आफूले सक्दो बजेट विनियोजन गरेको बताउनुभयो ।

रामेछाप जिल्लामा धेरै वटा पार्क निर्माण हुने क्रममा रहेको बताउदै उहाँले विटार पार्कलाई देशकै नमूना पार्कको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री ढुंगेलले भन्नुभयो,‘विटार पार्क निर्माण सुरु भएको छ, अब पार्कको डिपिआर तयार गरेर प्रस्ताव पेश गर्नुहोस, बजेटको व्यवस्थापन गर्ने काममा म लाग्छु ।’ उहाँले रामेछाप आउने पाहुनाहरुलाई रामेछाप जिल्लाको पहिचाहन हुने खालका तस्बीरहरू किनेर लैजाने वातावरण सृजना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विटारजस्ता पार्क निर्माणले जिल्लाको पहिचान झल्कने बताउनुभयो । पार्कलाई थप व्यवस्थित गर्नको लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले पार्क निर्माणकै चरणमा रहेकाले अझै ऐतिहासिक घटना र विषयबस्तु झल्किने गरी कलात्मक रुपमा निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले पार्क निर्माण गर्न मन्थली नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्कको पार्कको मन्त्री ढुंगेलले औपचारिक उदघाटन गर्दै रासमले विटार पार्क संरक्षण समितिका अध्यक्ष सुनिल रायमाझीलाई हस्तान्तरण गरेको थियो । रासमले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक लिम्पियाधुरा कालापानी सहितको नयाँ नक्सा जारी गरेपछि पहिलो पटक उक्त नक्सा ढुंगामा कुँदेर विटार पार्कमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्