सिन्धुलीमा बिग्रिएको सडक रामेछापकाे दुई गाउँपालिकाले बनायो



२९ साउन, रामेछाप ।
सिन्धुली जिल्लामा विग्रिएको सडक रामेछापले निर्माण गरेको छ । रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पुल सञ्चालनमा आएको एक बर्षको अवधिमा पनि बिपी राजमार्गबाट जोडने सडक निर्माण नहुँदा सास्ती भएपछि रामेछापको खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिका ले निर्माण गरेका हुन् । गत बर्षबाट उक्त पुल सञ्चालनमा आएको थियो ।

तर पुलबाट बिपी राजमार्गसँग जोडन पहुँच सडकको अझै टुंगो लागेको छैन् । पुल निर्माण गर्नुअघि सडकको किटान नहुँदा हाल रामेछाप आउनको लागि सिन्धुलीको सुनकोसी नदी किनाराबाट अस्थायी सडक निर्माण गरिएको छ । बर्षाको समयमा सुनकोसीमा पानीको वहाप बढदा सडक पुरिने क्रम बढेपछि दुई गाउँपालिकाले आधा–आधा बजेट बेर्होने गरी सडकमा स्तरउन्नती गर्ने काम सम्पन्न भएको छ ।

बर्षाको समयमा सवारी आवतजावतमै समस्या भएपनि दुई गाउँपालिकाको पहलमा सडकको स्तरउन्नती भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘बिपी राजमार्गदेखि पुलसम्म आउने सडक बर्षाको कारण डुबानमा परेपछि सुनापती गाउँपालिकाको सहकार्यमा स्तरउन्ती गर्ने काम सम्पन्न भएको छ, दुई गाउँपालिकाले आधा–आधा बजेट हाल्छौं ।’
सडकको स्तरउन्नतीको लागि सुनापती गाउँपालिका नेकपाका नेता राज मैनाली र खाँडादेवी गाउँपालिका–१ राकाथुमका चण्डिकलाल मोक्तान र शम्भु तामाङ खटिनुभएको थियो ।

राज मैनालीका अनुसार सडक झण्डै आधा किलोमिटर सडकको स्तरउन्नती गर्नको लागि ३ लाख २० हजार रुपैयाँ खर्च भएको थियो । सडकको स्तरउन्नती गर्नको लागि सुनापती गाउँपालिकाका प्राविधिक सहयोग गरेको थियो । सडकको स्तरउन्नती भएपछि अब रामेछाप–काठमार्डौं आवतजावत गर्न सहज भएको मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्