सिन्धुपाल्चोकमा फेरि पहिरोः २६ घर पुरिए ५ घरका सदस्य बेपत्ता



३० साउन, काठमाडौं ।
सिन्धुपाल्चोक जिल्लामा फेरि पहिरोले ठूलो धनजनको क्षति भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा करिब २६ वटा घर पुरिएका छन् भने पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । २६ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन, पत्रकार विष्णु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् । सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।


स्थानीय निमा निमा छिरिङ दोङका अनुसार पहिरोमा परेका १५ जना घाइतेको उद्धार गरिएको छ । उहााँका अनुसार करिब ५५ जना जति पुरिएको अनुमान गरिएको छ ।
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्