रामेछाप जिल्लामा आजबाट ‘अघोषित लकडाउन’



३० साउन, रामेछाप ।
कोरोना संक्रमितको संख्या बढन थालेपछि रामेछाप जिल्लामा अघोषित लकडाउन जारी भएको छ । जिल्लाको आठ वटै स्थानीय तहको आग्रहमा जिल्ला प्रशासन कार्यालय रामेछापले अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापले प्रशासनको निर्णय अनुसार जिल्लाको सबै नाकामा चेकजाँच कडा पारेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनहुँ बृद्धि भएसँगै रामेछाप जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाभित्र अत्यावश्यक सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा आजबाट रोक लगाइएको रामेछाप न्युजलाई बताउनुभयो ।
‘जिल्लाभित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन आवतजावतमा कडाई गरिएको छ’,प्रजिअ शर्माले भन्नुभयो,‘कोरोना जिल्लाभित्र फैलिन नदिन सबैको साथ र सहयोगको खाँचो छ ।’
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जिल्ला प्रवेश गर्ने नाकाहरुमा चेकजाँच कडाई गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्