दोरम्बाले देखाएको सपना अझै पूरा भएको छैनः अध्यक्ष मोक्तान



३२ साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले दोरम्बामा शहीदहरुले देखाएको बलिदानीको सपना अझै पूरा हुन नसकेको बताउनुभयो । देशमा गणतन्त्र स्थापना गर्नको लागि दोरम्बाको बलिदानीको ठूलो योगदान गरेको बताउदै उहाँले अझै पनि शहीदको सपना पूरा हुन नसकेकाे बताउनुभएको हो ।

दोरम्बा हत्याकाण्डमा सेनाको घेरा तोडेर बाँच्न सफल हुनुभएका अध्यक्ष मोक्तानले शहीदहरुले देखाएको बाटोमा पार्टी हिडन नसकेको बताउनुभयो । ‘जनयुद्ध र जनजआन्दोलनकै जगमा देशमा शासन व्यवस्था परिवर्तन भएर गणतन्त्र स्थापना भएको छ’, मोक्तानले भन्नुभयो,‘दुःखी गरिबको झुपडीमा अझै परिवर्तन आउन सकेको छैन् शहीद परिवारहरुको समेत उचित व्यवस्थापन हुन सकेको छैन् ।’

पार्टीका अध्यक्ष प्रचण्ड स्वयंमले डाँडाकटेरमा आएर युद्ध पर्यटकीय क्षेत्र घोषणा गर्ने प्रतिबद्धता गर्नुभए पनि अझै कार्यान्वयन हुन नसकेको बताउदै उहाँले युद्ध पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न पार्टी र सरकारसँग समन्वयकारी भूमिका खेल्ने बताउनुभयो ।

‘आजको दिन सम्झदा आङै सिरिङ गरेर आउछ, आँखै अगाडि साथीहरुलाई सेनाले गोली हानेको र हाँत बाँधेर डाँडाकटेरीमा गोली हानेर हत्या गरेको थियो’, उहाँले भन्नुभयो,‘सेनाको बन्दुक पन्छाउदै मकैवारीमा हाम फालेर बाँचेको अहिले सपनाजस्तै लाग्छ ।’

शहीदको बलिदानबाट अहिलेको परिवर्तन सम्भव भएकाले पार्टी र सरकारले पनि शहीदको बलिदानीलाई विर्सन नहुने बताउदै मोक्तानले दोरम्बा शहीद स्मृति पार्कलाई थप व्यवस्थित गर्ने कार्यमा आफू लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्