कुलमानको ४ बर्षे यात्राः ऋणमा डुबेको प्राधिकरण ११ अर्ब नाफामा



१ भदौ, काठमाडौं ।
चार बर्ष अगाडि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो । जसको कारण नेपाल विद्युत प्राधिकरणप्रति नागरिकहरुले असन्तुष्टि र आक्रोश सीमा नाघेको थियो । लोडसेडिङ हटाउन बर्षो लाग्ने पूर्व अनुमान सरकार स्वयंमले गरेको थियो । लोडसेडिङको कारण नागरिकहरुको जीवनशैलीले चौपट बनेको थियो । यतिसम्म कि मोबाइल चार्च गर्न समेत बिजुली आएको मौका छोप्नु पर्ने अवस्था रहेको थियो । इन्भटर र सोलारको व्यापार निकै फस्टाएको थियो ।

लोडसेडिङको सास्ती खेपिरहेकै बेला चार बर्ष अगाडि सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो । प्राधिकरणको नेतृत्व सम्हालेको तीन महिनामै फिल्मी शैलीमा कुलमान घिसिङले तिहारमा सबै भन्दा बढी बिजुलीको माग हुने काठमाडौं उपत्यकालाई झिलिमिली बनाएर सबैको मन जित्न सफल हुनुभयो ।
कुलमानको कुशल व्यवस्थापकै कारण काठमाडौ उपत्यका लोडसेडिङमुक्त भयो । कुलमानको सफलता यहीबाट चुलिन पुग्यो । किनकी उपत्यकाको जीवनशैली नै परिवर्तन भयो । एक बर्ष प्राधिकरणको नेतृत्व सम्हादा उहाँले देशलाई नै लोडसेडिङमुक्त बनाउन सफल हुनुभयो ।

कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि प्राधिकरणमा अहिलेको परिवर्तन ल्याउन भने रातदिनको खटाइले बढी काम गरेको छ । सरकारले गरेको विश्वासलाई कायमै राख्दै प्राधिकरणभित्र सबैलाई एकताबद्ध बनाएर अगाडि बढन सकेकै कारण घिसिङ सफल बन्न सक्नुभएको हो ।
कुलमानले नेतृत्व सम्हाल्दा प्राधिकरणलाई झण्डै ९ अर्ब रुपैयाँ ऋणको बोझ थियो । कर्मचारीहरुमा निराशा थियो । तर सुरुकै बर्षबाट उहाँले प्राधिकरणलाई सुधारको बाटोमा लैजान सफल हुनुभयो । लोडसेडिङ हटाएर प्राधिकरणलाई नाफामा लैजाने घिसिङलाई हटाउन लागि निकै ठूलो चलखेल पनि भएको थियो । तर कुलमानको कामबाट खुसी भएका नागरिहरुले सडकमै आएर समर्थन जनाउने काम गरे ।

घिसिङको चार बर्षे कार्यकाल यही महिनाबाट सकिदैछ । चार बर्षको अवधिमा घिसिङले नेपाली जनतालाई निकै ठूलो गुण लगाउनु भएको छ । लोडसेडिङ हटाउने, प्राधिकरणलाई नाफामा लैजाने, विद्युत महशुल घटाउने, विद्युतीकरणको कामलाई तिब्रता दिने, आन्तरिक व्यवस्थापनको कामलाई गति दिने, समयमै जलविद्युत आयोजना निर्माणको लागि दबाब दिने लगायतका काम भएका छन् ।

चार बर्षको अवधिमा नागरिकहरुले महशुस गर्ने गरी काम गर्न पाएकोमा आफू खुसी रहेको कार्यकारी निर्देशक घिसिङ बताउनुहुन्छ । ‘मैले प्राधिकरणको नेतृत्व सम्हाल्दा पाइलैपिच्छे चुनौतीको चाङ थियो, चुनौतीसँग मेरो लागि काम गर्ने अवसर पनि थियो’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘दृढ इच्छा शक्ति भएको अवस्थामा जस्तोसुकै चुनौतीलाई पनि सामना गरेर अगाडि बढन सकिन्छ ।’ मैले जुन योजना बनाएर काम सुरु गरेको थिए, चार बर्षको अवधिमा लक्ष्य अुनसारको काम पूरा भएका छन, गर्नुपर्ने काम अझै धेरै बाँकी छ, उहाँले भन्नुभयो ।

‘सरकारले विश्वास गरेर जिम्मेवारी दियो,मैले पनि मन बचन र कर्मको साथ प्राधिकरणलाई माथि उठाउने काम गरे’,उहाँले भन्नुभयो,‘सरकारको साथ प्राधिकरणका सबै कर्मचारीहरुले मप्रति देखाएको विश्वासकै कारण असम्भवजस्तै मानिएको काम हामीले गरेर देखाएका छौं । झण्डै ९ अर्ब घाटामा रहेको प्राधिकरणलाई आज हामीले ११ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएका छौं ।’

प्रतिक्रिया दिनुहोस्