प्राधिकरणमा कुलमान घिसिङलाई निरन्तरता दिन माग



१ भदौ, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङलाई नै प्राधिकरणमा निरन्तरता दिन माग गर्नुभएको हो । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको बताउदै पौडेलले प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो,‘१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ । यो उहाँकै नेतृत्वमा सम्भव भएको हो ।सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ, अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।’

कुलमानको ४ वर्षे कार्यकाल यही २९ गते सकिँदैछ । उहाँको कार्यकाल सकिएसँगै सो पदका लागि दौडधुप गर्नेको संख्या बढ्दै गएको बताइन्छ । यस्तो अवस्थामा प्राधिकरणका करिब १५ हजार कर्मचारीको साझा संस्थाको रुपमा रहेको ट्रेड युनियनले उर्जामन्त्री सहित विद्युत् क्षेत्रका सबैजसो व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा यस्तो माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्