बागमती प्रदेश सरकारबाट रामेछापलाई यस बर्ष १ अर्ब ५९ करोड बजेट



२ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा बागमती प्रदेश सरकारले यस आर्थिक बर्ष २०७७/०७८ को लागि १ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ । जिल्लाको विकासको लागि प्रदेश सरकारले उक्त बजेट छुट्याएको हो ।

विनियोजित बजेट अन्तर्गत सामाजिक विकास मन्त्रालयबाट १४ हजार ६१ लाख २७ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ८६ करोड ७४ लाख ४० हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ५ करोड ५२ लाख २६ हजार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट १२ करोड ६४ लाख १६ हजार आठ वटा स्थानीय तहलई वत्तीय हस्तान्तरण ३९ करोड ६४ लाख गरी कुल १ अब ५९ करोड १६ लाख ९ हजार रुपैयाँ विनियोजन गरेको हो । सबै भन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयले छुटयाएको छ भने सबै कम कृषि मन्त्रालयले विनियोजन गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जिल्लामा विनियोजित बजेटको कार्यान्वयन सन्तोषजनक रहेको बताउनुभयो । गत आर्थिक बर्षमा प्रदेशबाट विनियोजित झण्डै ७५ प्रतिशत भन्दा बढी विकास बजेट खर्च भएको बताउदै उहाँले यस आर्थिक बर्षमा काम राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । तीन वटै सरकारको समन्वयमा जिल्लाभित्र विकास निर्माणको काम अगाडि बढेको बताउदै मन्त्री ढुंगेलले जिल्लाको विकासको लागि आफूले सक्दो कोशिस  गरिरहेकाे बताउनुभयो ।

रामेछापका प्रदेशसभा सांसद शान्ति पौडेलले जिल्लाभित्र पूर्वाधार निर्माणको कामले गति लिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जिल्लाभित्र आएको बजेटको प्रभावकारी कार्यान्वयन जरुरी छ, त्यसको लागि मैले आफ्नो ठाउँबाट भूमिका खेलिरहेको छु ।’ आगामी दिनमा प्रदेश सरकारबाट थप बजेट ल्याउन पहल गर्ने बताउदै पौडेलले तीन वटा सरकारको समन्वयमा जिल्लाभित्र विकास निर्माणको काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्