कोरोना संक्रमित ह्वातै बढेपछि पुनः लकडाउन गर्ने गृहकार्यमा सरकार



२ भदौ, काठमाडौं ।
कोरोना संक्रमितको संख्या दैनिक एक हजार भन्दा बढी हुन थालेपछि सरकारले पुनः लकडाउन गर्ने गृहकार्य अगाडि बढाएको छ । लकडाउन नगर्दा परिस्थित भयावह बन्न सक्ने निष्कर्ष निकाल्दै सरकारले लकडाउन गर्ने गृहकार्य अगाडि बढाएको हो ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खाका ल्याउन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिलाई निर्देशन दिइसक्नुभएको छ । प्रधानमन्त्रीको निर्देशनसँगै समितिको बैठक भोली बस्ने भएको छ ।
अहिलेको परिस्थितिको मुल्याङकन गर्दै प्रधानमन्त्री ओली तत्काल लकडाउन गर्ने मनस्थितिमा रहुनुभएको एक मन्त्रीले बताए ।

उनका अनुसार बुधवार बस्ने मन्त्रीपरिषद्को बैठकले लकडाउन बारे निर्णय लिन्छ । सरकारले गत चैत्र ११ गतेदेखि असार पहिलो सातासम्म लकडाउन गरेको थियो । चौतर्फी दबाब परेपछि सरकारले लकडाउन खुला गर्ने निर्णय गरेको थियो । तर लकडाउन खुला भएसँगै देशभर कोरोना संक्रमितको संख्या दिनहुँ बढदै गएको छ ।
नेपालमा पहिलो पटक सोमवार एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्या आजसम्म १ सय १४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्