रामेछाप जिल्लामा भदाै १३ गतेसम्म निषेधाज्ञा घोषणा



२ भदौ, रामेछाप ।
कोरोना संक्रमितको संख्या दिनहुँ बढदै गएपछि रामेछाप जिल्लामा निषेधाज्ञा घोषणा गरिएकाे छ ।  जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा अाजबाट लागू हुनेगरी भदाै १३ गतेसम्म निषेधाज्ञा घोषणा गरेको हो । ।

 जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र निरन्तर कोरोना संक्रमण बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेकोले निषेधाज्ञाको घोषणा गर्नु परेको बताएको छ । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । निषेधाज्ञामा अत्यावश्यक सेवा खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न रोक लगाइएको छ ।

एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन मोटरसाइकल समेत सञ्चालन गर्न रोक लगाइएको छ ।
सबै सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्न र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्य गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनु पर्ने प्रशासनले आदेश दिएको छ। सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउन पनि भनिएको छ ।

बैक, वित्तीय संस्था,सहकारी कार्यालयर बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्म मात्र सञ्चालन हुने भएका छन् । अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान विक्रि वितरण गर्ने, आपूर्तिमा अवरोध गर्नेलाई कडा कारवाही गरिने समेत प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कायालय रामेछापका प्रमुख जिल्ला अधिकारीबाट जारी अादेश 

प्रतिक्रिया दिनुहोस्