पशुपती मावि विद्यालयको जग्गाभित्र निर्माण गरिएको अस्थायी टहरा भत्काउने निर्णय



३ भदौ, रामेछाप ।
सुनापती गाउँपालिका–३ हिलदेवीको केन्द्रमै रहेको पशुपती माविको नाममा रहेको जग्गाभित्र बनाइएको अस्थायी टहरो भत्काइने भएको छ । पटक–पटक अस्थायी टहरो हटाउने सूचना जारी गरेपनि अटेर गरेपछि यस पटक विद्यालय व्यवस्थापन समितिले हटाउने निर्णय गरेको हो । गाउँपालिकाको केन्द्र समेत रहेका साँदीडाँडामा अस्थायी टहरोको कारण बजार क्षेत्र नै कुरुप बन्न पुगेको छ ।

विद्यालयले समयमा अस्थायी टहरो हटाउन ध्यान नदिदा अहिले विद्यालयलाई घाँडो बनेको छ । विद्यालय स्थापना भएको लामो समय वितिसक्दा समेत अझैसम्म विद्यालयले आफ्नो जग्गाको साँध सीमाना छुटयाउन सकेको छैन् । तीन रोपनी १२ आना जग्गा रहेको विद्यालयले साँध सीमाना छुटाउन ढिलासुस्ती गर्दै अव्यवस्थित टहरा निर्माण हुनुको साथै विद्यालयको जग्गा नै अतिक्रमण हुने जोखिम समेत बढदै गएको छ । पटक–पटक अमिन ल्याएर साध सीमाना छुयाउने छलफल विद्यालयमा चल्ने गरेपनि कार्यान्वयन भने अझै हुन सकेको छैन् ।

विद्यालयको जग्गाबाटै सडक निर्माण भएको छ । विद्यालयकै जग्गाभित्र अव्यवस्थित ढंगले अस्थायी टहरो निर्माण गरिएको छ, विद्यालयको जग्गा संरक्षण गर्न तारवार गरिएको छैन । जसको कारण विद्यालयले आफ्नो जग्गा लिने कुरा थप जटिल बन्दै गएको छ । गाउँपालिकाको केन्द्र भएको कारणले पनि हाल अस्थायी टहरो निर्माण गरिएको ठाउँमा धेरैको आँखा पर्ने गरेको छ । विद्यालयको जग्गासँग जोडेर स्थायी संरचना निर्माण गर्दा पनि विद्यालयले आफ्नो जग्गा छुटाउने जाँगर देखाएको छैन् ।

हाल विद्यालयको जग्गाभित्र निर्माण गरेर व्यवसाय सञ्चालन भइरहेका अस्थायी टहराको भाडा भने कौडीको मुल्य बराबर पनि छैन् । तत्कालिन अवस्थामा हातले भाग लगाएर अस्थायी टहरा निर्माण गर्न दिइएको थियो । विद्यालयले त्रुटी नै त्यहीँबाट गरेको हो, विद्यालयका एक शिक्षक भन्छन–हामीले बारम्बार कुरा उठायौ तर विद्यालयको नेतृत्व लिएकाहरुले खै किन हो विद्यालयको जग्गा नापजाँच गरेर तारबार लगाउने इच्छा नै देखाएनन ।’

हाल गाउँपालिकाको केन्द्र भएको क्षेत्र आसपास प्रति आनाकै पाँच लाख रुपैयाँ भन्दा बढी मुल्यमा जग्गा कारोबार हुने गरेको छ । तर लाखौ पर्ने जग्गामा निर्माण भएका अस्थायी टहराबाट भाडा भने निशुल्कजस्तै दिएको छ ।

चिन्ता अस्थायी टहराको मात्र होइन, विद्यालयको जग्गाभित्र स्थायी संरचना बन्ने हो कि भन्ने छ, साँडीडाँडाका एक स्थानीय भन्छन–हरेक व्यक्तिलाई आफ्नो लगानी गरेर व्यवसाय चलाउन पाउछन, तर विद्यालयकै जग्गाभित्र स्थायी संरचना निर्माण हुने खतरा बढदा पनि विद्यालयले किन जग्गा नापजाँच गर्न आनाकानी गर्दै आएको हो, बुझन नसकिएको विषय यही हो ।’

विद्यालयको एक इन्च जमिन पनि छोडदैनौः अध्यक्ष लामा
विद्यालयको जग्गाभित्र बनेको अस्थायी संरचना भत्काउनु पर्ने चौथर्फी दबाब बढेपछि विद्यालय व्यवस्थापन समितिको बैठकले केही समय अघि अस्थायी टहरा भत्काउने निर्णय गरेको छ । तर भत्काउने काम भने अगाडि बढाउन सकेको छैन् । यसअघि पनि टहरा हटाउने निर्णय नभएको होइन । तर यस पटक भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन लामा ‘सौजन्य’ले नेतृत्व लिनुभएको छ । लामो समयदेखि हुन नसकेको काम अगाडि बढाउने बताउदै अस्थायी टहरा भत्काउने निर्णय भइसककोले अब कार्यान्वयन गर्ने क्रममा रहेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘व्यक्तिको जग्गा विद्यालयलाई एक इन्च पनि चाहिदैन, विद्यालयको एक इन्च जग्गा पनि हामी छोडदैनौ ।’

विद्यालयको जग्गाको चार किल्ला कामय गर्न छिट्टै अमिन ल्याएर नापजाँच गरिने बताउदै यदी कानुन विपरीत विद्यालयको जग्गाभित्र स्थायी संरचना निर्माण गरिएको रहेछ भने कानुन प्रक्रिया अनुसार नै अगाडि बढने  उहाँले बताउनुभयो । विगतमा के भएको थियो भन्ने समिक्षाको विषय भएपनि अब आफ्नो कार्यकालमा विद्यालयको जालपुर्जा अनुसारको जग्गा ल्याउन स्थानीय सरकारसँग समेत समन्वय गरेर काम गर्ने लामाले बताउनुभयो । विद्यालयको जग्गामा निर्माण गरिएको अस्थायी टहरासँग लिने भाँडा पनि अहिलेको समयसापेक्ष छैन, लकडाउनको कारण अहिले केही ढिला भएजस्तो देखिए पनि अब कार्यान्वयन गर्ने प्रक्रियामा अगाडि बढने उहाँले विश्वास व्यक्त गर्नुभयो । विद्यालयको जग्गाको चार किल्ला कायम गर्ने क्रममा सरोकारवाला सबै निकायको समन्वयमा काम गरिने बताउदै लामाले कानुन अनुसार प्राप्त हुने जग्गालाई व्यवस्थित गर्न तारबार गरिने बताउनुभयो ।

कौडीकै भाउमा अस्थायी टहरा सञ्चालन
वि.सं. २०२५ सालमा स्थापना भएको पशुपति माविको प्लस टुसम्मको अध्ययन हुँदै आएको छ । विद्यालयका पूर्व प्रअ रामकुमार श्रेष्ठको पहलमा ३ रोपनी १२ जग्गा विद्यालयको नाममा ल्याएको थियो । विद्यालयले भएकै भवनलाई भत्काएर भारतीय दुतावासको सहयोगमा हाल विद्यालय भवन निर्माण भइरहेको छ ।
धेरै वटा विद्यालय व्यवस्थापन समिति र प्रअहरु हेरफेर भएपनि विद्यालयको जग्गा छुटयाएर तारबार लगाउने काम भने अझै हुन सकेको छैन् । विद्यालयको जग्गा भाडामा लगाउन वा विक्रि गर्न नपाइने कानुनी व्यवस्था छ । तर हिलेदेवीमा भने कानुनको धज्जी उडाउदै अस्थायी टहरामा निर्वाध रुपमा व्यापार व्यवसाय चलिरहैकै छ ।

हाल विद्यालयको जग्गाभित्र निर्माण भएर सञ्चालन भइरहेको प्रति टहरा बराबर मासिक २ सय ६० रुपैयाँ मात्र शुल्क लिने गरेको छ । पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर थिङले विद्यालयको जग्गा जग्गा नापजाँच गर्नको लागि जिल्ला नापी कार्यालय रामेछापबाट नै अमिन ल्याए पनि विद्यालय आसपासका बासिन्दाले अवरोध गरेको कारण प्रक्रिया अगाडि बढन नसकेको बताइएको छ ।

अस्थायी टहरा हटाएर विद्यालयको जग्गामा तारबार लगाउछौः प्रअ वल
पशुपती माविका प्रअ तिलक बलले विद्यालयको जग्गा सीमाना कायम गर्न विद्यालय व्यवस्थापन समितिले तत्पर्ता देखाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘मैले प्रअको जिम्मेवारी सम्हालेपछि प्रत्येक बैठकमा अस्थायी टहरा भत्काउन र विद्यालयको जग्गाको चार किल्ला कायम गर्न माग गर्दै आएको हो, यस पटक भने विद्यालय व्यवस्थापन समितिले टहरा हटाउने निर्णय गरेको छ, अब चाहीँ कार्यान्वयनमा जान्छ ।’ व्यक्तिको जग्गा विद्यालयलाई नचाहिने बताउदै लालपुर्जा अनुसार विद्यालयको जग्गा कायम गरेर तारबार गरिने उहाँले बताउनुभयो । ‘अस्थायी टहरो हटाउन हामीले केही महिना समय दिएका छौ, प्रअ बलले भन्नुभयो,‘दशैसम्म टहरोमा बस्ने व्यवसायीहरुले विकल्प खोजिसक्ने जवाफ दिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्