कृषकसँग दोब्बर मुल्य लिएर मल बेच्ने रामेछापका लामा प्रहरी खोरमा



४ भदौ, रामेछाप ।
कोरोना भाइरसको कारण देशभर निधेषाज्ञा घोषणा गर्ने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाभित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाउदै आएको छ । कोरोनाको कहरको कारण मारमा परेका कृषकहरुलाई दोब्बर मुल्य लिएर मल विक्री गर्ने रामेछापका पदम बहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप नगरपालिका–६ ओख्रेनी कृषक जागरण कृषि सहकारी संस्था विक्री केन्द्र मन्थलीमा भएको मलमा कृषकलाई ठगी गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो । कृषक जागरण कृषि सहकारी संस्थाका व्यवस्थापक तथा मलका वितरक लामाले एमोनियम सल्फेट नामक मलको मूल्य लिएर युरिया मल बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

साल्ट टे«डिङ् कर्पोरेशनसँग ८ सय ४६ मल ल्याएर लामाले कृषकहरुलाई १ सय ६० बोरा मल १ हजार ८ सयमा विक्री गरेपछि कृषकहरुले प्रहरीलाई उजुरी गरेका थिए । लामालाई पक्राउ गर्नुको साथै सहकारीको विक्री केन्द्रमा जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ ।
पक्राउ परेका लामालाई अदालतबाट सात दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई जानकारी दिनुभयो । पक्राउ परेका लामालाई कालोबजारी अन्तर्गत कारवाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्