रामेछापको खैरेनीघाट नाकामा पुनः शसस्त्र प्रहरीको अस्थायी पोष्ट राखिने



६ भदौ, रामेछाप ।
रामेछापको मुख्य नाका अन्तर्गत पर्ने रामेछाप–सिन्धुली जोडने खैरेनीघाट नाकामा पुनः शसस्त्र प्रहरीको अस्थायी पोष्ट राखिने भएको छ । लकडाउन खुला भएसँग हटाइएको उक्त पोष्ट सुरक्षा व्यवस्था थप मजबुद्ध बनाउन पुनः राख्न लागिएको हो ।

रामेछापको खाँडादेवी, सुनापती र दोरम्बा गाउँपालिकाले व्यवस्थापन गर्ने गरी यसअघि शसस्त्र प्रहरीको अस्थायी पोष्ट राखिएको थियो । तीन वटा गाउँपालिकाको आग्रहमा पुनः खैरेनीघाट नाकामा अस्थायी पोष्ट राख्ने तयारी अगाडि बढाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । जिल्ला सुरक्षा समितिको निर्णय मार्फत अस्थायी पोष्ट राख्न पाइने व्यवस्था रहेको छ ।

जिल्लामा निषेधाज्ञा जारी गरेको र राजधानी काठमाडौं लगायतका विभिन्न क्षेत्रबाट जिल्ला प्रवेश गर्ने खैरेनीनाकामा थप कडाई गर्नको लागि अस्थायी पोष्ट राख्नु पर्ने स्थानीयको माग गरेका छन् ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्ला भित्र्ने मुख्य नाका अन्तर्गत रहेको खैरेनीघाट नाकामा सुरक्षाकर्मी आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘तत्कालको लागि सुरक्षा निकायको अस्थायी पोष्ट राख्न जरुरी छ, आगामी दिनमा स्थायी पोष्टकै लागि हामी पहल गछौं ।’ जिल्ला प्रवेश गर्ने अन्य नाकामा सुरक्षा पोष्ट रहेपनि खैरेनीघाट नाकामा लकडाउनको अवधिमा तीन महिना राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्