धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना, दैनिक एक हजारको स्वाब परीक्षण हुने



६ भदौ, काभ्रे ।
बागमती प्रदेश सरकारले काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोना सँगै अन्य प्रकारका रोगहरुको पहिचान र परिक्षण गर्ने उदेश्यले प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको हो ।

‘बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो । बागमती प्रदेश सरकारको राजधानी मकवानपुरको हेटौडामा भए पनि काभ्रे तथा आसपासका जिल्लाहरुमा सेवा कार्यालयहरु स्थापना गर्ने सरकारको नीति अनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकाका निर्देशक नारायण कार्कीले प्रदेश स्तरका सबै प्रकारका परिक्षण गर्ने र अन्य प्रयोगशालाले पहिचान गर्न नसक्ने खालका रोगहरु समेत यहि ल्यावबाट परिक्षण हुने बताउनुभयो ।

धुलिखेल नगरपालिकाले प्रयोगशाला ब्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ । चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रयोगशालाको भवन निर्माण हुनेछ । दैनिक एक हजार स्वाब परिक्षण गर्ने गरी प्रयोगशालामा जनशक्ति ब्यवस्थापन गरिएको छ ।

सरकारी स्तरका दरवन्दीमा १३ र करारमा ९ जना कर्मचारीहरुले उक्त प्रयोगशालामा कार्य गर्नेछन् । पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्वन्धी परिक्षण गर्नेछन् भने भक्तपुर र सिन्धुलीमा कोरोना परिक्षणका लागि प्रदेश सरकारले अर्को प्रयोगशाला स्थापना गरे पछि तीन जिल्लाको मात्रै परीक्षण हुनेछ ।

धुलिखेल अस्पतालमा यस अघि परिक्षण हुँदै आएको प्रयोगशाला, स्वचालित थप अर्को प्रयोगशला र प्रादेशिक प्रयोगशालाबाट द्रुत गतिमा परिक्षण हुँदा नागरिकहरुले स्वाव संकलन गरेको भोलिपल्टै जानकारी पाउनेछन् । प्रयोगशालाको कमीका कारण स्वाब संकलन गरेको झण्डै साता दिनसम्म ब्यक्तिले आफ्नो बारेमा जानकारी पाउन नसक्दा समुदायमा संक्रमण फैलिरहेको थियो । त्यो समस्याबाट मुक्त हुने गरी सरकारले काम गरिरहेको मन्त्री दुलालले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि नगरपालिकाले आवश्यक ब्यवस्थापनका लागि सहयोग पु¥याएको बताउनु भयो । आगामी दिनमा प्रयोगशालाका लागि सहयोग गर्ने र नागरिकहरुको स्वास्थ्यका लागि धुलिखेल नगरपालिकालाई स्वस्थ शहर बनाउन प्रयोगशाला स्थापनाले थप सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्