दोरम्बा गाउँपालिका पूर्ण रुपमा विद्युतीकरण



७ भदौ, रामेछाप ।
स्थानीय सरकारले गरेको प्रतिबद्धता अनुसार दोरम्बा गाउँपालिका पूर्ण रुपमा विद्युतीकरण भएको छ । दोरम्बा गाउँपालिकाले उज्यालो दोरम्बा बनाउने निर्णय अनुसार तीन बर्षभित्र पूर्ण रुपमा विद्युतीकरण भएको हो । वल्ड बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरण र दोरम्बा गाउँपालिकाको समन्वयमा गाउँपालिकाभित्र सबै घरघरमा बिजुली बलेको छ ।

सात वटा वडा रहेको दोरम्बा गाउँपालिकाभित्रको सबै घरघरमा बिजुली बलेको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘निर्वाचनमा जनतासँग गरेको बाचा पूरा गरेका छौ, सबै ठाउँमा विद्युत पुगेको छ ।’ कोरोनाको कारण पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा गर्नको लागि औपचारिक कार्यक्रम गर्न नपाएको बताउदै अध्यक्ष मोक्तानले गाउँपालिकाभित्र पूर्वाधार निर्माणको कामले पनि गति लिएको बताउनुभयो ।

उहाँले दोरम्बामा निर्माणनिध सवस्टेसन निर्माणको काम समेत समयमा नै सम्पन्न गर्नको लागि स्थानीय सरकारले आवश्यक सहयोग र समन्वय गरिरहेको बताउनुभयो । दोरम्बाको सबस्टेसन निर्माण भएपछि गाउँपालिकाभित्र बेलाबेलामा झ्याप झ्याप बिजुली जाने समस्या पनि समाधान हुने अध्यक्ष मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्