मन्थलीमा ठूलो त्रास हटयो नगरपालिकाका ७९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ



७ भदौ, रामेछाप ।
रामेछापको मन्थली मन्थली नगरपालिकामा विगत एक सातादेखि देखिएको त्रास हटेको छ । मन्थली नगरपालिकामा कार्यरत स्वास्थ्य शाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि ती कर्मचारीको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएपछि खुसी छाएको छ । कर्मचारीको सम्पर्कमा आएका ७९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।

मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीलाई नै कोरोनो देखिएपछि समुदाय स्तरमा फैलिन सक्ने भन्दै तत्काल जिल्ला प्रशासन कार्यालय रामेछापले नगरपालिकाको कार्यालय सिल गरेको थियो । त्यसैगरी कोरोनाको सम्भावित जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले अहिले जिल्लाभित्र भदौ १३ गतेसम्मको लागि नेषाधाज्ञा जारी गरेको छ ।

मन्थली नगरपालिकाका सम्पर्कमा आएका सबै व्यक्तिहरुको रिपोर्ट नगेटिभ आएपछि समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिम हटेको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले बताउनुभयो । उहाँले थप शर्तकताको आवश्यकता रहेको बताउदै नगरपालिकालाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ९ सय १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लामा ३३ जनामा कोरोना पुष्टि भएकोमा ३१ जना स्वास्थ्य भएर घर फर्किसकेका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अहिलेसम्म समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन सम्पूर्ण स्रोत र साधनको परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जिल्लाभित्र समुदाय स्तरमा संक्रमण फैलिन नदिन आठ वटै स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्