कुलमानको गृह जिल्ला रामेछापमा ९० प्रतिशत क्षेत्रमा विद्युतीकरण



९ भदौ, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृह जिल्ला रामेछापमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ । घिसिङको पहलमा जिल्लाको आठ वटा स्थानीय तहको अधिकाशं क्षेत्रमा विद्युतीकरण सम्पन्न भएको हो । वल्ड बैंकको सहयोगमा प्राधिकरणले केही बर्ष अघिबाट जिल्लाभित्र विद्युतीकरण हुन बाँकी रहेका क्षेत्रमा तीब्र गतिमा विद्युतीकरणको काम अगाडि बढाएको थियो ।

गत आर्थिक बर्षमा नै रामेछापलाई पूर्ण विद्युतीकरण जिल्लाको रुपमा घोषणा गर्ने कार्यक्रम रहेपनि लकडाउनको कारण प्रभावित बन्न पुगेको थियो । घिसिङले विद्युतीकरण हुन यदी कुनै कारणले छुटेको बस्तीका नागरिकहरुलाई सिधै सम्पर्क गर्न समेत आग्रह गर्नुभएको थियो ।

नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीका अनुसार जिल्लाको अधिकाशं क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न भएको र विद्युत बल्न रहेको केही बाँकी स्थानमा पनि धमाधम काम भइरहेको बताउनुभयो । मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, गोकुलगंगा गाउँपालिकाका सबै क्षेत्रमा विद्युतीकरण भइसकेको छ ।

रामेछाप नगरपालिकाको हिमगंगाको केही स्थान, लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर २ सैपुमा लाइन चार्ज गर्ने काम बाँकी रहेको बताउदै अधिकारीले खाँडादेवी गाउँपालिकाको पनि अधिकाशं क्षेत्रमा विद्युतीकरण भइसकेको बताउनुभयो । सुनापती गाउँपालिकाको दिमीपोखरीमा लाइन चार्ज गर्ने काम बाँकी रहेको छ, उमाकुण्ड गाउँपालिकाको भुजी, गुप्तेश्वर र गुम्देलमा विद्युतीकरणको काम भइरहेको छ, केही समयभित्रै विद्युत बल्छ, उहाँले भन्नुभयो ।

रामेछाप जिल्लामा विद्युतीकरण बढेसँगै राजश्व संकलन र ग्राहक संख्या पनि बढेको छ । ०७५। ०७६ २५ हजार ग्राहबाट प्राधिकरणले ११ करोड राजश्व संकलन गरेको थियो भने ०७६।०७७ ग्राहको संख्या ३२ हजार पुगेसँै १७ करोड राजश्व संकलन गरेको अधिकारीले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार विद्युतीकरणको काम भइरहेको क्षेत्रमा अब करिब ३५ सयदेखि ४ हजारको संख्यामा ग्राहक संख्या थपिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्