दोरम्बा गाउँपालिकाभित्र सामाजिक सुरक्षा भत्ता अब बैंकबाट मात्र वितरण हुने



१० भदौ, रामेछाप ।
दोरम्बा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको काम यस आर्थिक बर्षदेखि बैकिङ प्रणालीबाट गर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उदेश्य सहित गाउँपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा वितरण गर्ने भएको हो ।
दोरम्बा गाउँपालिकाका र ग्लोबल आइएमी बैंकबीच सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकीय अधिकृत धिराज मरासेनी, वडा अध्यक्षहरु खडगबहादुर श्रेष्ठ रेम थापा र ग्लोबल आइएमी बैंक टोकरपुर शाखाका प्रमुख बासु ढुंगाना लगायतको सहभागीता रहेको थियो ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष मोक्तानले गाउँपालिकाभित्र वितरण गरिने सबै सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘असी बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई बैंकले घरघरमै पुगेर सेवा उपलब्ध गराउछ, बैंकका कर्मचारीलाई सवारीको व्यवस्था गाउँपालिकाले गर्छ ।’ हाल गाउँपालिकाभित्र करिब २६ सय भन्दा बढी व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्