भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छः कुलमान घिसिङ



११ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रामक समाचार तथा सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले आफ्नो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर भ्राकक समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, उहाँले भन्नुभयो ।
विहिवार एक विज्ञप्ती जारी गर्दै घिसिङले मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, उर्जामन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।
नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन््, उहाँले भन्नुभएको छ ।
लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन, विज्ञप्तीमा भनिएको छ ।
सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्