खाँडादेवी गाउँपालिकाको पकरवासमा तत्काल पाँच शैयाको अस्पताल सञ्चालन हुँदै



१६ भदौ, रामेछाप ।
कोरोना नियन्त्रण र रोकथामको लागि प्रत्येक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप खाँडादेवी गाउँपालिकाको पकरवासमा पाँच शैयाको अस्पताल सञ्चालनमा अाउने  भएको छ । सरकारले भौतिक पूर्वाधार भएको स्थानीय तहमा तत्काल डाक्टर सहितको पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार खाँडादेवी गाउँपालिका–५ पकरवासमा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई नै तत्काल पाँच शैयाको अस्पताल सञ्चालन गर्ने गृहकार्य अगाडि बढाइएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो ।

उहाँका अनुसार पकरवासको प्राथमिक स्वास्थ्य चौकीमा हाल एक्सरे, ल्याब र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । प्राथमिक स्वास्थ्य चौकीमा रहेको भौतिक पूर्वाधार अस्पताल सञ्चालन गर्न पुग्ने रहेको बताउदै अध्यक्ष तामाङले आवश्यक जनशक्तिको पदपूर्ति गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार नै अगाडि बढाइने बताउनुभयो ।

खाँडादेवी गाउँपालिकाको केन्द्रसँग हाल १५ करोड लगानीमा १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढेको छ । डाक्टर सहितको अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकावासीलाई सामान्य उपचार गर्न सदरमुकाम मन्थली र राजधानी काठमाडौं जानु पर्ने बाँध्यता हटने भएको छ ।

प्रतिक्रिया दिनुहोस्