सुनापती गाउँपालिकामा पाँच शैयाको अस्पताल सञ्चालनमा आउने



१९ भदौ, रामेछाप ।
सुनापती गाउँपालिकाको बेथानमा पाँच शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि तत्काल संरचना भएको स्थानीय तहमा पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याउने निर्णय अनुरुप सुनापती गाउँपालिका पहिलो पटक अस्पताल सञ्चालनमा आउने भएको हो ।

स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार भौतिक पूर्वाधार भएको स्वास्थ्य चौकीलाई नै अस्पतालमा स्तरउन्नती गरिने भएको छ । गाउँपालिकाको बेथामा केही बर्ष अघि नै सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण भएर सञ्चालनमा आइसकेको छ ।

कोरोना नियन्त्रण र रोकथामको लागि अहिले गाउँपालिकाले बेथान स्वास्थ्य चौकीमा २१ वटा वेडको व्यवस्था गरेको छ । सम्भावित कोरोना संक्रमित भएकाहरुलाई गाउँपालिको बेथानकै स्वास्थ्य चौकीमा राख्ने गरेको छ । केही समय अघि वैदेशिक रोजगारीबाट फर्किएर कोरोना संक्रमित भएका व्यक्तिहरुलाई स्वास्थ्य चौकीकै क्वारेन्टिनमा राखिएको थियो ।

भौतिक पूर्वाधारले सम्पन्न भएपनि डाक्टर सहितको सेवा प्रवाह हुन नसकिरहेको बेला सरकारले अस्थायी रुपमा पाँच महिनाको लागि पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याउने भएपनि गाउँपालिकावासीमा खुसीयाली छाएको छ ।

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत राममणि काफ्लेले स्वास्थ्य मन्त्रालयले अस्थायी रुपमा पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याउने निर्णय अनुसार पूर्वाधार भएको बेथान स्वास्थ्य चौकीलाई नै अस्पतालमा स्तरउन्नती गर्ने गृहकार्य अगाडि बढाइएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालनको लागि अर्थ मन्त्रालयसँग बजेट मागेको पत्र गाउँपालिकालाई प्राप्त भएको बताउदै उहाँले डाक्टर ल्याउनको लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो । काफ्लेका अनुसार अस्पताललाई आवश्यक पर्ने ल्याब, एक्सरे मेसिन र आवश्यक जनशक्ति व्यवस्थापनको काममा पनि काम अगाडि बढाइनेछ ।

सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङले पूर्वाधार भएको बेथान स्वास्थ्य चौकीलाई नै तत्कालको लागि अस्पतालको रुपमा सञ्चालन गरिने बताउनुभयो । गाउँपालिकाभित्र अस्पताल सञ्चालनमा भएको अवस्थामा सामान्य उपचार गर्नको लागि राजधानी काठमाडौ जानुपर्ने बाँध्यता हटने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्