उच्च मनोबलको साथ काम गरिरहेका छौः डिएसपी पाठक
२० भदौ, रामेछाप ।
रात दिन कोरोना नियन्त्रण र रोकथाममा खटिदै आएका जिल्ला प्रहरी कार्यालय रामेछापका पाँच जना प्रहरीहरुलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको संख्या बढदै गएसँगै सुरक्षा निकायको दायित्व पनि दिनदिन बढदै गएको छ ।
कोरोना संक्रमण पुष्टि भएको पाँच जना प्रहरीहरुलाई शुक्रवार नै जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा राखिएको छ । पाँचै जना प्रहरीहरुमा कोरोनाको कुनै पनि लक्षण नदिएको अस्पतालले बताएको छ ।
नागरिकहरुलाई सुसुचित गराउन मास्क वितरण गर्ने कार्यदेखि लिएर जिल्लामा जारी निषेधाज्ञा कार्यान्वयन गर्ने कार्यमा प्रहरी अहोरात्र खटिदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले पाँच जना प्रहरीमा कोरोना संक्रमण देखिए पनि उच्च मनोबलको साथ काम गरिरहेको बताउनभुयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘संक्रमित प्रहरीहरुलाई अस्पतालमा भर्ना गरिएको छ, कन्ट्याक ट्रेसिङको काम भइसकेको छ, सावधानी अपनाएर काम अगाडि बढाइरहेका छौं ।’
उहाँले संक्रमित भएको पाँचै जना प्रहरीहरु छिट्टै निको भएर काममा फर्किने विश्वास व्यक्त गर्दै आत्मविश्वास बढाएर कोरोनालाई जित्न सकिने बताउनुभयो । डिएसपी पाठकले अत्यावश्यक बाहेक अन्य कामको लागि घर बाहिर ननिस्किन पनि रामेछापवासीलाई आग्रह गर्नुभयो ।