दोरम्बा गाउँपालिकामा पाँच शैयाको अस्पताल सञ्चालनमा



२१ भदौ, रामेछाप ।
दोरम्बा गाउँपालिकाको सक्रियतामा दोरम्बा गाउँपालिकामा पहिलो पटक पाँच शैयाको अस्पताल सञ्चालनमा आएको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई नै सरकारले स्तरउन्नती गर्दै अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । एक साता अघि सरकारले हरेक स्थानीय तहमा तत्काल डाक्टर सहितको पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याउने निर्णय अनुरुप दोरम्बामा पनि अस्पताल सञ्चालनमा अनुमति पाएको छ ।

गाउँपालिकाको पहलमा एक बर्ष अघि नै एमबिविएस डाक्टर सहितको सेवा दोरम्बा स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको छ । एक बर्ष अघि नै स्वास्थ्य सेवा विभागले प्रस्तावित १५ शैयाको अस्पताल बन्ने दोरम्बाको लागि डाक्टर पठाएको थियो ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाले एक बर्षअघि देखिनै गाउँपालिकावासीलाई डाक्टर सहितको सेवा दिदै आएको र अहिले सरकारले पाँच शैयाको अस्पतालको मान्यता दिएको बताउनुभयो । ‘हामीले निर्वाचनमा गाउँपालिकाभित्र अस्पताल सञ्चालनमा ल्याउने घोषणा गरेको थियौ, हाम्रो पहलमा एक बर्षअघिबाट डाक्टर सहितको सेवा दोरम्बाबाट सुरु भएको थियो, अहिले अस्पतालकै मान्यता पाएको छ’, मोक्तानले रामेछाप न्युजसँग भन्नुभयो ।

गाउँपालिकाले अस्पताल सञ्चालन गर्नको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने काम समेत सम्पन्न गरिसकेको छ । हाल कोरोना नियन्त्रण र रोकथाम गर्नको लागि गाउँपालिकाले दोरम्बामा १५ शैया वेट तयारी अवस्थामा राख्नुको साथ आवश्यक उपकरण समेत खरिद गरिसकेको छ ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले सबैको साथ र सहयोगबाट दोरम्बा स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरउन्नती गर्न सफल भएको बताउनुभयो । ‘अस्पताल सञ्चालन गर्नको लागि निकै धेरै चुनौती थियो’, उहाँले भन्नुभयो,‘गाउँपालिकाले खेलेको भूमिकाकै कारण अहिले अस्पतालको मान्यता पाउनु गाउँपालिकावासीको लागि खुसीको विषय हो ।’
अस्पतालमा हाल ल्याब, एक्सरे मेसिन लगायतका न्युनतम उपकरण उपलब्ध रहेको छ ।

दोरम्बा अस्पतालका डा. सन्तोष कुमार श्रेष्ठले अस्पताल सञ्चालनमा आएपनि सामान्य उपचारको लागि राजधानी काठमाडौं जानु पर्ने बाँध्यता हटेको बताउनुभयो । ‘आवश्यक भौतिक पूर्वाधार न्युनतम उपकरण अस्पतालमा उपलब्ध छ’, डा. श्रेष्ठले भन्नुभयो,‘पाँच शैयाको अस्पतालको मान्यता पाएको छ, केही उपकरण र जनशक्ति थप्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्