सांसद श्रेष्ठको पहलमा सुनापती गाउँपालिकाले एम्बुलेन्स र शव बहान ल्याउदै



२२ भदौ, रामेछाप ।
सुनापती गाउँपालिकाले पहिलो पटक एम्बुलेन्स र शव बहान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले नेपाल रेडक्रसले सञ्चालन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको छ ।

श्याम कुमार श्रेष्ठ, प्रतिनिधिसभा सांसद, रामेछाप

रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले पूर्वाधार निर्माणमा विनियोजन गरेको बजेट खर्च हुन नसकेपछि रकमान्तरण गर्दै गाउँपालिकाको कोरोना भाइरस उपचार कोषमा जम्मा गरिएको थियो । उक्त बजेटबाट गाउँपालिकाले एम्बुलेन्स र शव बहान खरिद गर्नको लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लले एम्बुलेन्स र शव बहान सञ्चालनको दिर्घकालिन व्यवस्थापनका लागि सञ्चालनको जिम्मेवारी रेडक्रसलाई दिनेगरी सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकामा एम्बुलेन्स र शव बहान नहुँदा बिरामी अस्पताल लैजान समस्या पर्दै आएको छ, अब बिरामी अस्पतालसम्म लैजान समस्या हुँदैन ।’ काफ्लेका अनुसार अबको केही महिनाभित्रै एम्बुलेन्स र शव बहान गाउँपालिकामा आइसक्नेछ ।

गाउँपालिकाको एम्बुलेन्स नहुँदा कोरोना संक्रमित व्यक्तिहरुलाई अस्पताल लैजान समेत समस्या पर्दै आएको छ । एम्बुलेन्स नहुँदा गाउँपालिकाको गाडी र टाटासुमो भाडामा लिएर संक्रमितलाई अस्पताल लैजान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्