खाँडादेवी गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास, तत्काल पाँच शैयाको अस्पताल सञ्चालन हुँदै



२५ भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाभित्र पहिलो पटक निर्माण हुन लागेको १५ शैयाको अस्पतालको शिलान्यास भएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले संयुक्त रुपमा अस्पतालको शिलान्यास गर्नुभएको हो ।

स्थानीय सरकारको समन्वयमा खाँडादेवी गाउँपालिकाको केन्द्रसँग रहेको गोगनपानीमा स्वास्थ्य मन्त्रालयले अस्पताल निर्माणको काम अगाडि बढेसँगै गाउँपालिकावासीमा नयाँ आशा जगाएको छ । बहुबर्षिय ठेक्का अन्तर्गत गत बर्षबाट काम अगाडि बढेको अस्पताल निर्माणको लागि यस बर्ष पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले बताउनभयाे ।

गाउँपालिकाको केन्द्रसँगै निर्माण सुरु भएको अस्पताल निर्माणको लागि आवश्यक पर्ने जग्गा स्थानीयले निशुल्क रुपमा उपलब्ध गराएका छन् । आगामी तीन बर्षभित्र अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।


त्यसैगरी खाँडोदवी गाउँपालिकाको पकरवास स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै तत्काल डाक्टर सहितको पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको छ । डेढ साता अघि स्वास्थ्य मन्त्रालयले अस्पताल नभएका स्थानीय तहमा तत्काल पाँच शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्