रामेछापका सहयोगी मनहरुको उदाहरणीय कामः नहुनेका लागि एक छाक टार्ने (फोटोफिचर)
२६ भदौ, रामेछाप ।
लकडाउनको अवधिमा रामेछापमा नमूना पार्क निर्माण गरेको रामेछापका सहयोगी मनहरुले जिल्लामा फेरि उदाहरणीय कामको सुरुवात गरेका छन् । समाजमा कोही कसैले पनि भोकै पर्न नपरोस भन्ने मुख्य उदेश्य सहित रासमले जिल्लामा पहिलो पटक फुड बैंकको स्थापना गरेर विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराउने अभियानको सुरुवात गरेको हो ।
‘नहुनेका लागि एक छाक टार्ने’ अभियान अनुसार फुड बैंक स्थापना गरेर बितरणको काम थालनी गरेको रासमका सुनिल रायमाझीले बताउनुभयो ।सहयोगी मनहरुलाई जिल्लाभित्र सबैको साथ र सहयोग पनि मिल्ने क्रम बढेको छ । आर्थिक नलिने घोषणा गरेको रासमले फुड बैंकको लागि आवश्यक पर्ने खाद्यन्न उपलब्ध गराइदिन सहयोगी दाताहरुलाई आग्रह गरेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतबाट ‘एक छाक’को प्याकेज वित्तरण गरेर औपचारिक रुपमा थालनी गरिएको छ । रायमाझीका अनुसार अब यो अभियान निरन्तर चल्ने छ । रासम सहयोग अभियान र भोकै दिन रात कटाउने विपन्न परिवारका लागि महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
लकडाउन र जिल्लामा तीन साता भन्दा बढी जारी गरिएको निषेधाज्ञाको कारण आफ्नो रोजिरोटी गुमेर दैनैक छाक टार्न सम्स्यामा परेका परिवारलाई विभिन्न सहयोगी दाताहरुले सहयोग गर्ने क्रम सुरु भएको छ । सहयोगी दाताहरुको सहयोगमा दुई केजी चामल, दाल, नुन र सोयाविन दिने गरिएको छ । जिल्ला समन्वय समितिसँग नगर बिकासको घरमा फुड बैंक सञ्चालनमा ल्याइएको छ । विहिवार पहिलो दिन २१ जनालाई खाद्यान्न सहयोग गरिएको रायमाझीले जानकारी दिनुभयो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रासमले सञ्चालन गरको अभियान उदाहरणीय भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सहयागी दाताहरुले थोरै थोरै दिदा कोही पनि भोक्कै बस्नु पर्ने अवस्थाको अन्त्य हुन्छ, अभियानमा सक्नेले सहयोग गरौ ।’