प्रहरी कार्यालय रामेछापमा छिर्‍यो कोरोना, १३ प्रहरी संक्रमित



२७ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमण बढदै गएको छ । जिल्लाभित्र विभिन्न ठाउँमा देखिदै आएको कारोना संक्रमण जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रवेश गरेको छ । आज थप पाँच जना प्रहरीमा कोरोना संक्रमण देखिएसँगै दुई साताको अवधिमा १३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले आज पाँच जना प्रहरीमा संक्रमण पुष्टि भएसँगै जिल्लाका १३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार सात जना प्रहरीलाई जिल्ला अस्पतालमा राखिएको छ भने आज पुष्टि भएका प्रहरीलाई पनि आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आज कोरोना पुष्टि भएका पाँच जना प्रहरी कार्यालयभित्रैकै क्वारेन्टिनमा बस्दै आएका थिए ।

प्रहरीमा संक्रमण देखिएसँगै कार्यालय आसपासका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यसअघि प्रहरी हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका, र उनका सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँग खड्कालाई हिरासतभित्रकैको आइसोलेनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्