कुलमान घिसिङको ४ बर्षे कार्यकाल आज सकिदै, मन्त्रिपरिषद बैठक अनिश्चित



२८ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल आजबाट सकिदैछ । देशभित्र १८ घण्टासम्म रहेको लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको घिसिङको कार्यकाल आजबाट सकिन लागेको हो ।

जनस्तरबाट चौतर्फी रुपमा घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग भएपनि सरकारले म्याद थप्ने विषयमा कुनै प्रक्रिया अगाडि नबढाएपछि आजबाट घिसिङ प्राधिकरणबाट विदाई हुन लाग्नुभएको छ । कुलमानकै विषयलाई लिएर दुई सातादेखि मन्त्रिपरिषद्को बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले सादै आउनुभएको छ । गत बुधबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक पनि प्रधानमन्त्री ओलीले स्थगित गर्नुभएको थियो ।
नागरिकसँगै स्वंयम नेकपाभित्र पनि कुलमानलाई निरन्तरता दिनुपर्ने दबाब भएपनि प्रधानमन्त्री ओली भने घिसिङलाई निरन्तरतता दिन नचाहनेको कारण मन्त्रिपरिषद् बैठक नै सार्दै आउनुभएको छ । घिसिङलाई निरन्तरता दिन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने प्रावधान छ । ऊर्जा मन्त्रालयले पुनः नियुक्तिको प्रस्ताव लैजाने बताए पनि मन्त्रिपरिषद बैठक नबस्दा नियुक्ति अन्यौलमा परेको छ ।

२०७३ भदौ २९ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त हुनुभएका घिसिङले मुुुलुुकमा १८ घण्टा लामो लोडसेडिङ हटाएका थिए । चार बर्षे कार्यकालमा लोडसेडिङ हटाउनुको साथै घिसिङले ९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई ११ अर्ब नाफामा ल्याउन सफल हुनुभएको यियो ।

प्रधानमन्त्री एवं नेकपाका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुलमानको पुनः नियुक्तिको बारेमा छलफल भएपनि कुरा मिल्न नसकेको बताइएको छ । प्रधानमन्त्री ओली कुलमानलाई विदाई गर्ने पक्षमा रहनुभएको र प्रचण्ड पुनः घिसिङलाई एक कार्यकाल निरन्तरता दिनुपर्ने अडानमा रहनुभएको प्रचण्डको सचिवालयले बताएको छ । नागरिकहरुले राम्रो काम गरेकाले घिसिङलाई निरन्तरता दिन माग गरेपनि सरकारले चासो देखाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्