गंगालाल र पुष्पलालको जन्मभूमि भँगेरीमा ४४ करोडमा यस्तो बन्दैछ पार्क (फोटोफिचर)



सुनिता तामाङ
२८ भदौ, काठमाडौं ।रामेछापको भँगेरीमा ४४ करोडको पार्क निर्माण हुने भएको छ । नेपाल कम्युनिष्ट सरकारले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र सहिद गंगालाल श्रेष्ठको जन्मभूमि रामेछापको भँगेरीमा ४४ करोड लागतमा पुष्पलाल स्मृति पार्क निर्माण गर्न लागेको हो । शहरी विकास तथा भवन निर्माण विभागकाले पार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न गरेर यस आर्थिक बर्षबाट काम अगाडि बढाउने तयारी गरेको छ ।

पुष्पलालको जन्म स्थललाई विशेष रूपमा पूर्वाधार निर्माण गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य सरकारले लिएको छ । पार्क निर्माण गर्न ५२ रोपनी जग्गा अधिग्रहण गरेर मुआब्जा दिने काम सम्पन्न भइसकेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय रामेछापका प्रमुख नारायण प्रसाद भण्डारीले यस आर्थिक बर्षबाट पार्क निर्माणको काम अगाडि बढाउने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘डिपिआरको काम सकिएको छ, यस बर्षबाट काम अगाडि बढाउछौ ।’

पाँच बर्ष अघि नै सरकारले भँगेरीमा पार्क निर्माण गर्ने घोषणा गरेपनि जग्गा अधिग्रहणको लागि आवश्यक बजेट नहुँदा पार्कको काम अगाडि बढन सकेको थियो । गत बर्ष मुअब्जा वितरणको काम सम्पन्न भएकाले यस बर्षबाट काम अगाडि बढने भएको हो ।
नेकपा रामेछापका ईन्चार्ज एवं पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका अध्यक्ष देवशकंर पौडेलले पुष्पलाल पार्क निर्माण गरेर रामेछापको भँगेरीलाई राजनीतिक गन्तव्य स्थलको रूपमा विकास गरिने बताउनुहुन्छ ।

पार्कभित्र पुष्पलाल, गंगालाल सहित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुको शालिक राखिने बताउदै उहाँल पार्कलाई अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य सरकारले लिएको छ । रामेछापका संघीय सांसद श्याम कुमार श्रेष्ठले राणा शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठ र नेकपाका संस्थापन अध्यक्ष पुष्पलाल श्रेष्ठको स्मृतिमा पार्क निर्माणको लागि यस बर्ष संघीय सरकारबाट १० करोड ५ लाख रुपैयाँ विनियोजन गरेको रामेछाप न्युजलाई बताउनुभयो ।

गंगालाल र पुष्पलालका पिता कुनै बेला रामेछाप बजारमा रहेको माल अड्डाका बडा हाकिम रहनुभएको र रामेछाप बजारसँग जोडिएको भँगेरीमा कोठा लिएर बस्नुभएको थियो । दुई दाजुभाइ गंगालाल र पुष्पलालको सोही समयमा भँगेरीमा जन्मनुभएको थियो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भँगेरी विश्वका कम्युनिष्टहरुको पवित्र स्थल भएकाले देशका प्रमुख गन्तव्यको रुपमा विकास गरिने बताउनुहुन्छ ।

उहाँले प्रदेश सरकारले नेकपाका संस्थापक सदस्यहरु, सहिद गंगालाल श्रेष्ठ र राना शासन विरुद्ध मकैको खेती लेखे बापत प्रथम सहिद हुनुभएका रामेछापका कृष्णलाल अधिकारीको पूर्णकदको शालिक राख्नको बजेट विनियोजन गरेको बताउनुभयो ।

पार्कमा संस्थापक महासचिव पुष्पालाल श्रेष्ठ संस्थापक सदस्यहरु नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द बैद्य र मोतीदेवी श्रेष्ठ, सहिद गंगालाल श्रेष्ठ र कृष्णलाल अधिकारीको पूर्णकदको शालिन निर्माणको काम समेत अगाडि बढाइएको छ ।

पार्क निर्माण गरेर देशकै प्रमुख गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखिएको बताउदै अर्थमन्त्री ढुंगेलले कम्युनिष्टहरुको पवित्र स्थल भएकाले अध्ययन केन्द्रको रुपमा समेत विकास गरिने बताउनुभयो । पार्कभित्र पुष्पलाल र गंगालालको सहितको शालिक, संग्राहलय, पुस्ताकालय, स्वीमिङ पुल ,सभा हल लगायतको भौतिक पूर्वाधार निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्