सबैको मन जितेर प्राधिकरणबाट विदा भए कुलमान घिसिङ



३० भदौ, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिनुभएको थियो ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको बताउनुभयो । सुरुमा घिसिङले जिम्मेवारी सम्हाल्दा माफियाको चङ्गुलमा फस्नुहुन्छ कि भन्ने डर लागेपनि पछि धेरै नाफा हुने संस्थानको रुपमा प्राधिकरणको विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको उहाँले बताउनुभयो ।

‘हामीले पहिलो कार्यकालका रुपमा आज उहाँको बिदाइ गर्दैछौ । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस, उहाँले भन्नुभयो । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो । उहाँलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेपनि हिजो सबेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रश्न उठाएपछि कुनै निर्णय हुन सकेन ।

उर्जा मन्त्रालयले घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिसकेको छ । घिसिङले आफनाे कार्यकालमा  देशभित्र १८ घन्टासम्म रहेको लोडसेडिङ हटाउनुको साथ आठ अर्ब घाटामा रहकेको प्राधिकरणलाई ११ अर्ब नाफामा ल्याउन सफल हुनुभएको थियो । नागरिकहरुले पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै सडकको कुलमानको पक्षमा आवाज उठाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्