रामेछापका दुई सडक कालोपत्रे भए लगत्तै भत्कियाे



५ असोज, रामेछाप ।
रामेछापको दुई सडक कालोपत्रे भए लगत्तै ठाउँठाउँमा चिराचिरा परेको छ । सुनापती गाउँपालिकाको लुभु–बेथान–गाल्वा सडक निर्माण भएको दुई महिनामै भत्किन सुरु भएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । लुभुदेखि खनियापानी सडक खण्ड अन्तर्गत गत आर्थिक बर्ष १३ सय मिटर सडक कालोपत्रे भएको थियो ।

सडक निर्माणको जिम्मेवारी पाएको भवगती निर्माण सेवा प्रालि बत्तीसपुतलीलाई तत्काल भत्किएको सडक निर्माणको काम थाल्न पूर्वाधार कार्यालय रामेछापले पत्र काटेको छ । खैरेनीघाट–बेथान–गाल्वा सडक खण्डको १३ मिटर सडक ३ करोड ८६ लाख ९० हजारमा कालोपत्रे भएको हो ।

पूर्वाधार कार्यालय रामेछापका प्रमुख सिडिई सोमराज तिमिल्सेनाले लुभ गाल्वा सडक अन्र्तत लुभु खनियापनी सडक खण्डमा केही ठाउँमा भासिएर कालोपत्रेमा चिराचिरा देखिएको हुँदा उक्त खण्डमा तत्काल गुणस्तरीय ढंगेले कालोपत्रे गर्न निर्देशन निर्माण कम्पनीलाई निर्देशन दिएको बताउनुभयो ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाको सित्खा–आँपचौर–रायगाउँ–चुल्ठेपानी सडक पनि निर्माण सकिए लगत्तै ठाउँठाउँमा कालोपत्रे उप्किने र चिरा परेको छ । उक्त सडक खण्डमा गत आर्थिक बर्षमा ६६ लाख ५९ हजारमा २ सय ९० मिटर सडक कालोपत्रे भएको थियो ।
निर्माणको जिम्मेवारी पाएको बमकाली कन्ट्रक्सन प्रालि मन्थलीले गुणस्तरीय काम नगर्दा उक्त सडकको ठाउँठाउँमा खाल्डाखुल्डी पर्ने र चिरा परेको छ । पूर्वाधार कार्यालयका प्रमुख तिमिल्सेनाले केही ठाउँमा सडक भासिएर कालोपत्रेमा चिराचिरा देखिएको हुँदा तत्काल उक्त स्थानमा गुणस्तरीय काम गर्न पत्रचार गरिएको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘नियमित रुपमा सडकको अनुगमन गर्दा पनि केही ठाउँमा पहिरो खस्ने र कालोपत्रे चिराचिरा परेको देखिएको छ, ती स्थानमा तत्काल सडक गुणस्तरीय ढंगेले निर्माण गर्न निर्देशन दिइसकेका छौं ।’ आगामी दिनमा गुणस्तर कायम गर्नको लागि थप कडाईको साथ सुपरभिजन हुने बताउदै तिमिल्सिनाले निर्माण सम्पन्न भएको एक बर्षसम्म सडक भत्किएको अवस्थामा उक्त सडक बनाउने जिम्मेवारी निर्माण कम्पनीकै हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्