खाँडादेवी गाउँपालिकाकाे चेतावनीः गुणस्तरहिन काम गाउँपालिकालाई स्वीकार्य हुँदैन



५ साउन, रामेछाप ।
सित्खा–आँपचौर सडक खण्डमा गरिएको कालोपत्रे चिराचिरा परेपछि खाँडादेवी गाउँपालिकाले ध्यानाकर्षण भएको बताएको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्र संघ प्रदेश र गाउँपालिकाबाट सञ्चालित विकास निर्माणको काम गुणस्तरहिन हुन नहुने बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘गाउँपालिकाभित्र निर्माणाधिन विकास निर्माण दिगो हुनुपर्छ, गुणस्तरीय बनाउन स्थानीय सरकारको तर्फबाट नियमित रुपमा अनुगमन गरिरहेका छौं ।’ गाउँपालिकाले नौ वटै वडा अध्यक्षहरुलाई संघ र प्रदेश सरकारबाट वडा स्तरमा सञ्चालित विकास निर्माणको नियमित अनुगमन गर्न निर्देशन दिएको छ ।

अध्यक्ष तामाङले सित्खा–गोगनपानी–धुलेवेसीं हुँदै भोटनागी जोडने सडक खण्ड अन्तर्गत हाल सित्खादेखि गोगनपानीसम्मको सडक कालोपत्रे हुने चरणमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सित्खा–गोगनपानी सडक निर्माणमा सम्झौता बमोजिम काम नभएकाले हामीले तीन साता काम गर्न दिएनौ, ठेकेदार कम्पनीले सम्झौता अनुसार काम गर्न प्रतिबद्धता जनाएपछि अहिले काम सुचारु भएको छ ।’

बागमती प्रदेश सरकारले खाँडादेवी गाउँपालिकाको सित्खा–आँपचौर–रायगाउँ–चुल्ठेपानी सडक खण्ड अन्र्तगत गत आर्थिक बर्षमा ६६ लाख ५९ हजारमा २ सय ९० मिटर सडक कालोपत्रे गरेको थियो । सडक कालोपत्रे गरे लगत्तै ठाउँठाउँमा चिराचिरा परेको छ । सडक गुणस्तरहिन भएकोप्रति गाउँपालिकाले पूर्वाधार कार्यालय मन्थलीलाई जानकारी गराएसँग पूर्वाधार कार्यालयले ठेकेदारलाई तत्काल उक्त चिरा परेको ठाउँमा गुणस्तरीय रुपमा काम गर्न निर्देशन दिइसकेको छ ।

गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले गाउँपालिकाभित्र भइरहेका विकास निर्माणको नियमित रुपमा अनुगमन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सम्झौता बमोजिम निर्माण व्यवसायीले काम नभए काम समेत रोक्ने गरेका छौं ।’

खाँडादेवी गाउँपालिकाभित्र बागमती प्रदेश सरकारले चार वटा मुख्य सडक कालोपत्रेको काम अगाडि बढाएको छ । खाँडादेवी गाउँपालिकाका–३ भीरपानीका वडा अध्यक्ष पुष्पकर कार्कीले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन नियमित रुपमा अनुगमन गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्