१ करोड ४६ लाखमा सुनापती गाउँपालिकाको भवन निर्माण हुँदै



६ असोज, रामेछाप ।
सुनापती गाउँपालिकाले नयाँ कार्यालय भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले भवन निर्माण गर्नको लागि जग्गा प्राप्ति र डिपिआरको काम सकिए लगत्तै नयाँ भवन निर्माणको लागि ठेक्का आह्वान गरेको छ । गाउँपालिकाको हाल प्रिफ्याक भवन भएकाले नयाँ  आधुनिक र व्यवस्थित नयाँ कार्यालय बनाउन लागेको हो ।

गाउँपालिकाको केन्द्र हिलदेवीमा भवन निर्माण गर्नको लागि स्थानीयले आवश्यक जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले भवन निर्माणको लागि ठेक्का लगाउने प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
डिपिआरकाे रिपोर्टको आधारमा गाउँपालिकाको नयाँ भवन निर्माणको काम अघि बढेको बताउदै उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘अब गाउँपालिकाको आधुनिक र व्यवस्थित भवन बन्नेछ ।’

नयाँ निर्माण हुन लागेको भवनको पहिलो तलामा सभा हल र माथिल्लो तलामा कार्यालय प्रयोजनको लागि हुने गरी डिजाइन गरिएको छ । काफ्लेका अनुसार भवन निर्माणको लागि यस बर्ष १ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ । साढे तीन तलाको भवन निर्माण गर्नको लागि ६ करोड ७६ लाख लाग्ने डिपिआरको रिपोर्टमा उल्लेख गरिएको छ ।

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गत बर्ष नै भवन निर्माणको काम अगाडि बढाउने भनिए पनि प्राविधिक कारणले अगाडि बढन नसकेको बताउनुभयो । उहाँले स्थानीयले निशुल्क रुपमा प्रदान गरेको जग्गामा गाउँपालिकाको भवन निर्माण गर्न लागिएको बताउनुभयो । यस बर्षको गाउँपालिकाले विनियोजन गरेको बजेटबाट दुई तलाको ढलान सम्पन्न हुने बताइएको छ । गाउँपालिकाले सकेसम्म एउटै भवनबाट सेवाग्राहीलाई सेवा उपलब्ध गराउने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्