रामेछापका १६ विद्यालयमा अब नर्स, कुन–कुन विद्यालय छानिए (सूचीसहित)



८ असोज, रामेछाप ।
एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत यस बर्ष रामेछापका १६ वटा विद्यालय छनौट भएका छन् । हरेक विद्यालयमा एक नर्स राख्ने नीति अनुसार बागमती प्रदेश सरकारले यस बर्ष रामेछापको १६ वटा विद्यालय छनौट गरेको हो ।

गत बर्षदेखि सुरु भएको कार्यक्रम यस बर्षबाट थप विस्तार गरिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका विभिन्न विद्यालय छनौट गरी यस बर्षबाट थप नर्स पठाउन लागेको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले अगाडि सारेको एक विद्यालय एक नर्सको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘एउटा विद्यालयमा एक नर्स आाजको आवश्यकता हो, आवश्यकता अनुसार सरकारले काम अगाडि बढाएको हो ।’
मन्त्रालयले रामेछापका आठ वटा स्थानीय तहका १६ वटा विद्यालय छनौट गरेको छ ।

कुन–कुन विद्यालय छनोट भए ?
सामाजिक विकास मन्त्रालयले उमाकुण्ड गाउँपालिकाको सिद्देश्वर मावि बाम्ती र कैलेश्वर माविक गुप्तेश्वरलाई छनोट गरेको छ । गोकुलगंगा गाउँपालिको शारदा मावि ठोसे र कमलादेवी मावि नामाडीमा यस बर्षबाट नर्स राखिने भएको छ । लिखु तामाकोसी गाउँपालिकाको सहिद स्मृति मावि सैपु र नवदर्शन मावि तिल्पुङलाई छनोट गरेको छ ।

त्यसैगरी रामेछाप नगरपालिकाको हिमंगा मावि साँघुटार र गौरीशंकर मावि रामेछापमा नर्स राखिने भएको छ । मन्थली नगरपालिकाको नीलकण्ठेश्वर मावि कठजोर र सैतीदेवी मावि सालुमा यस बर्षबाट नर्स सहितको सेवा उपलब्ध हुने भएको छ ।

खाँडादेवी गाउँपालिकाको प्रगतिशिल मावि भिरपानी र माध्यामिक विद्यालय राकाथुम, दोरम्बा गाउँपालिकाको काकलिङ उच्च मावि दोरम्बा र कण्ठेश्वर उच्च मावि टोकरपुर, सुनापती गाउँपालिकाको बाल मावि भिरकोट र डहु मावि डहु बेथानमा यस बर्षबाट नर्स राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्