खोलखर्कमा धमाधम सार्वजनिक जग्गा अतिक्रमणप्रति दाेरम्बा गाउँपालिकाको ‘एक्सन’



१० असोज, रामेछाप ।
दोरम्बा गाउँपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम तीब्र बनेको छ । गाउँपालिकाको दोरम्बा बजार, कुखेरे आहल र खोलाखर्कमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम तीब्र बनेको हो ।
विगत लामो समयदेखि सार्वजनिक जग्गा अक्रिमण गरेर अस्थायी टहरोको साथै पक्की घरसम्म निर्माण हुने क्रम बढदै गएको छ । गाउँपालिकाले अव्यवस्थित दोरम्बा बजारलाई व्यवस्थित गर्नको लागि गुरु योजना तयार गरे पनि व्यवस्थित बजार विस्तारको काम अगाडि बढन सकेको छैन् ।

एक बर्ष अघि नै दोरम्बा बजारको अस्थायी घर टहरा भत्काउन गाउँपालिकाले सूचना जारी गरेपनि बजारबासीले विरोध गरेको कारण अझै कार्यान्वयनमा जान सकिरहेको छैन् । सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम रोक्नको लागि दोरम्बा गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारवाही गर्ने गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

दोरम्बा गाउँपालिकाका कार्यवहाक अध्यक्ष कृशला घिसिङले गाउँपालिकाभित्रका मुख्य व्यापारिक र पर्यटकीय गन्तव्यमा सार्वजनिक जग्गा अतिक्रमण रोक्नको लागि गाउँपालिकाले कानुनी प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाउने जानकारी गाउँपालिकालाई आएको छ, हामीले अतिक्रमणमा परेको क्षेत्रको पहिचान गरेर कानुन विपरीत काम गर्नेलाई कानुन अनुसार नै प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।’

पछिल्लो समयमा दोरम्बा गाउँपालिका–१ खोलाखर्क क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । गाउँपालिकाको कुनै पनि आधिकारीक सूचना तथा प्रक्रिया विना खोलाखर्कमा सरकारी जग्गमा भौतिक संरचना निर्माण गर्ने क्रम धमाधम हुँदै आएको छ । घिसिङले भन्नुभयो,‘खोलाखर्कमा सार्वजनिक जग्गा अतिक्रमणको कार्य तत्काल बन्द गर्न सूचना जारी गरेका छौ, गाउँपालिकाले खोलाखर्क क्षेत्रको सार्वजनिक जग्गा भाडामा दिने कुनै निर्णय गरेको छैन् ।’
पछिल्लो समयमा खोलखर्कमा केही स्थानीयले सार्वजनिक जग्गामा डोजर लगाएर घडरी समेत वितरण गर्ने काम अगाडि बढाएका छन् । खोलाखर्कको झण्डै १५ रोपनी भन्दा बढी जग्गाा अतिक्रमणमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्