मन्थलीलाई सफा बनाउन रासमको सक्रियता, नगरप्रमुख बस्नेत फोहोर सोर्दै (फोटो/भिडियो)



१० असोज, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा शहरीकरण बढदो छ । जनसंख्याको चाप बढेसँगै मन्थली नगरपालिकालाई बजार सफा राख्ने चिन्ता थपिएको छ । बजार क्षेत्रलाई सफा राख्नको लागि फोहोरमैला व्यवस्थापन गर्न नगरपालिकाले निजी कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले बर्षौदेखि बजारलाई सफा बनाउने अभियान सञ्चालन गरेपनि बजार सफा हुन सकेको छैन् । बजार सफा नहुनुको मुख्य समस्या भनेकै बजारवासीको गरेको वेवास्था हो ।
बजारवासी स्वंयम सचेत भएको खण्डमा मात्र बजार सफा र सुन्दर बन्न सक्छ । सदरमुकाम मन्थली आसपासको क्षेत्रमा औषतमा थोरै मात्र बर्षा हुने क्षेत्रको रुपमा पर्छ । धुलोको कारण सास्ती खेप्दै आएका बजारवासीलाई विगत केही बर्षदेखि सडक कालोपत्रे भएपछि केही राहतको महशुस गरेका छन् । तर धुलो उडने क्रम भने रोकिएको छैन् । मन्थली नगरपालिकाले धुलो व्यवस्थापनको लागि विभिन्न विकल्पमा छलफल गर्दै आएपनि अहिलेसम्म धुलो नियन्त्रण गर्न के गर्ने भन्ने विषयको टुंगो लगाउन सकेको छैन् ।

मन्थली बजारलाई सफा र सुन्दर राख्न नगरपालिकासँगै विभिन्न संघ संस्थाहरुले बेला बेलामा अभियान सञ्चालन गर्ने गरेका छन् । जब अभियान सकिन्छ तब बजार क्षेत्रको फुटपाथमा फोहोर देखिने सुरु हुने गर्छ । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत हरेक अभियानमा झाडु लिएरै बजार क्षेत्र सफा बनाउने काममा खटिदै आउनुभएको छ । तर बजारवासी भने नगरप्रमुखले हातमा झाडु बोकेर सफाइ अभियानमा जुटदा रमिते बन्ने गरेका छन् ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले बजार क्षेत्रलाई सफा र सुन्दर राख्न हरेक नागरवासीहरुले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्ने बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘फोहोर व्यवस्थापनको काम नगरपालिकाले गर्दै आएको छ, सबै नागरिक सचेत भए बजार क्षेत्र सधै सफा र सुन्दर राख्न सकिन्छ ।’

बजार क्षेत्रलाई सफा राख्न सञ्चालन हुने हरेक अभियानमा आफू झाडु र साबेल लिएर हिडने गरेको बताउदै नगरप्रमुख बस्नेतले नगरपालिकाले आफ्नो दायित्व पूरा गरेकाले बजारबासीले पनि बजार सफा बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताउनुहुन्छ ।

पछिल्लो समयमा बजार क्षेत्रमा फोहोर बढदै गएपछि रामेछापका सहयोगी मन (रासम) मन्थली बजार सरसफाई अभियान सुरु गरेको छ । रासमले साता व्यापी अभियान शनिवारबाट सुरु गरेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत सहभागी भएको अभियानले देवकोटा चोकदेखि कटहरकोबोटसम्म सरसफाइ गरेको छ । अभियानमा उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीले साथ दिएका छन् ।

रासमका सदस्य सुनिल रायमाझीले बजार क्षेत्रलाई सफा बनाउन साता व्यापी अभियानको सुरुवात गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘बजार क्षेत्र सफा र सुन्दर राख्नु सबैको दायित्व र कर्तव्य हो ।’

भिडियाे 

प्रतिक्रिया दिनुहोस्